विराटनगर भन्सारको राजस्व असुलीमा पाँच वर्षदेखि निरन्तर गिरावट आउन थालेको छ। भन्सारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा आधा मात्र राजस्व संकलन गरेको गरेको छ।
विराटनगर भन्सारले गत आर्थिक वर्ष ०८०/८१ मा ३० अर्ब ३४ करोड रुपैयाँ अर्थात लक्ष्यको ५९.७१ प्रतिशत मात्र राजस्व संलकन गरेको हो । गत आर्थिक वर्ष भन्सारले ५० अर्ब ८१ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको थियो।
प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले गत वर्षको राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताए। उनले भने, ‘खाने–लगाउने उमेर समूहका युवाहरू पनि धेरै बिदेसिएका छन् आर्थिक मन्दीको प्रभाव पनि परेको छ, यसैले व्यापारिक र औद्योगिक मालवस्तुको आयात घट्दो भएकाले राजस्व असुलीमा असर परेको हो ।’
यसैगरी विराटनगर भन्सारले आर्थिक वर्ष ०७९/८० मा ६० अर्ब ६५ करोड ६२ लाख असुल गर्ने लक्ष्य लिएकोमा ५५ प्रतिशत मात्र ३३ अर्ब १३ करोड ६६ लाख राजस्व संकलन गरेको थियो। आर्थिक वर्ष ०७८/ ७९ मा ४९ अर्ब ६५ करोड ९५ लाख लक्ष्य रहेकोमा ८१ प्रतिशत ४० अर्ब ४२ करोड ७७ लाख राजस्व संकलन गरेको थियो ।
आर्थिक वर्ष ०७५/७६ देखि विराटनगर भन्सारको राजस्व असुली निरन्तर गिर्दाे रहेको छ। भन्सारले ०७५/७६ मा लक्ष्यको ९० प्रतिशत ०७६/७७ मा लक्ष्यको ५८ प्रतिशत र ०७७/७८ मा लक्ष्यको ८८ प्रतिशत राजस्व संकलन गरेको थियो। आर्थिक वर्ष ०६८/६९ देखि ०७४/७५ सम्म भने विराटनगर भन्सारले सन्तोषजनक राजस्व संलकन गरेको थियो।