पूर्वशिक्षक बोहरा हत्याकाण्ड : पाल र लाललाई जेल

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

कञ्चनपुरका पूर्वशिक्षक गणेश बोहरा हत्याकाण्डको तीन वर्षमा फैसला भएको छ । भीमदत्त नगरपालिका– ९ खल्लामछेट्टीका स्थानीयसमेत रहेका पूर्वशिक्षक बोहरा हत्याकाण्डको तीन वर्ष पूरा भएपछि फैसला भएको हो । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले पूर्वशिक्षक बोहरा हत्याकाण्डको ३१ असार ०८० मा फैसला परेको छ । उच्चका अदालतका मुख्यन्यायाधीशसहितको इजलासले बोहरा हत्याकाण्डको ज्यान कसुरमा दायर भएको मुद्दाको फैसला गरेकाे अदालतले जनाएको छ । 

उच्च अदालत महेन्द्रनगर इजलासका रजिस्ट्रार तीर्थराज भट्टले बोहरा ज्यान कसुरमा प्रकाश पाल र लालबहादुर बोहरालाई कैद, जरिवानादेखि क्षतिपूर्ति सजाय भएको बताए । रजिस्ट्रार भट्टका अनुुसार मुलुकी अपराध संहिता २०७४ को दफा १८१ को (२) बमोजिम प्रकाश पाल र लालबहादुर बोहरालाई जनही पाँच–पाँच वर्ष कैद सजाय निर्धारण गरिएको छ । 

दुवैलाई ३५–३५ हजार रुपैयाँ जरिवाना, एक हजार चार सय रुपैयाँ पीडितको राहत कोष र जनही एक लाखका दरले दुई लाख रुपैयाँ मृतक बोहराको आश्रित परिवारलाई क्षतिपूर्ति तिर्न फैसला भएको छ । उक्त मुद्दा जिल्लाबाट सरेर उच्च अदालतमा पुनरावेदन भएको थियो । 

२० असार ०७८ साल खल्लामछेट्टी गाउँमा बोहराको प्रकाश पाल समूहले पालकै मदिरा पसलमा हमला गरेका थिए । पाल समूहको आक्रमणमा परेर घाइते भएका बोहराको भोलिपल्ट मृत्यु भएको थियो । मृतक बोहरा परिवारले प्रकाश पालसहित उनका बाबु हंश पाल, आमा मधु भनिने रुक्मा पाल, गोमती पाल (खड्का), लालबहादुर बोहराविरुद्धमा कर्तव्य ज्यानअन्तर्गत  प्रहरीमा किटानी दिएका थिए। सोही आधारमा प्रहरीले पाँचैजनालाई पक्राउ गरेर ज्यान कसुरमा मुद्दा चलाएको थियो ।

१२ साउन ०७८ मा जिल्ला अदालतमा दायर भएको मुद्दामा १९ साउनमा प्रकाश पाल, मधु भनिने रुक्मा पाल र लालबहादुर बोहरालाई पुर्पक्षका लागि कारागार चलान र  हंश पालबाट दुई लाख ५० हजार र गोमती पालबाट ५० हजार धरौटी तिराएको थियो । उच्चले मधु भनिने रुक्मा पाललाई साधारण तारेखमा रिहा गरेको थियो । (मृतक) पीडित बोहरा पक्षले मुलुकी फौजदारी संहिता, २०७४ को १७७ (१)को उपदफा (२) बमोजिम सजायको माग दाबी गरेका थिए । पूर्वशिक्षकको हत्या गरेको भन्दै तीन वर्षअघि गाउँ नै उल्टिएर आन्दोलन गरेको थियाे। उच्चको फैसलापछि पीडित पक्षले केही न्याय पाएको बताएका छन् । 

सुझावित समाचार