नेपालको लोकप्रिय ब्रान्ड सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको सिद्धार्थ इन्टरनेसनल होटेल लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । आइपिओ जारी गर्न लागेको बौद्धस्थित चारतारे स्तरीय सिद्धार्थ बुटिक होटेल र रुपन्देहीको भैरहवास्थित पाँचतारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । अध्यक्ष न्यौपानेले चालू आर्थिक वर्षमै आइपिओ निष्कासन गरिने जानकारी दिए । उनका अनुसार कुल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणका लागि ल्याउन लागिएको हो ।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव र तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्डका साथै हस्पिटालिटी एजुकेसन, रेस्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।