नवौँ टी–२० विश्वकपमा आइसिसीले आर्थिक घाटा व्यहोरेको छ । अमेरिकामा दर्शकको न्यून उपस्थिति र प्रभावकारी मार्केटिङ हुन नसक्दा घाटा व्यहोरेको आइसिसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नवौँ टी–२० विश्वकप आयोजना गर्दा आर्थिक घाटा व्यहोरेको छ । ‘अमेरिकामा भएको विश्वकपका खेलमा दुई करोड अमेरिकी डलर (दुई अर्ब ६० करोड रुपैयाँ) घाटा व्यहोर्यो,’ आइसिसीले भनेको छ, ‘विशेषगरी नासाउ क्रिकेट रंगशाला बनाउन ठूलो राशि खर्च भएको थियो ।’ गत महिना वेस्ट इन्डिज र अमेरिकामा टी–२० विश्वकप सम्पन्न भएको थियो । मोड्युलर शैलीमा रंगशाला बनाउँदा बजेटभन्दा धेरै खर्च भएको आइसिसीको भनाइ छ ।
आइसिसीले वेस्ट इन्डिजको तुलनामा अमेरिकामा भएको खेलमा आर्थिक घाटा भएको जनाएको छ । ‘अमेरिकामा क्रिकेट लोकप्रिय नहुँदा दर्शकको उपस्थिति पातलो रह्यो,’ आइसिसीको भनाइ छ । आइसिसीले विज्ञापन तथा टिकट बिक्रीबाट रकम उठाउने गर्छ । तर, यसपटक आइसिसीले विश्वकपमा सोचेजस्तो टिकट बिक्री गर्न सकेन । आइसिसीले अमेरिकामा भएको खेलका लागि थप बजेट छुट्याएको थियो । अमेरिकामा भएको खेलका लागि आइसिसीको पाँच करोड अमेरिकी डलर खर्च भएको थियो ।
यसैबीच, आइसिसीको बोर्ड बैठक अर्को साता श्रीलंकाको कोलम्बोमा बस्दै छ । बैठकमा विश्वकपमा व्यहोरेको घाटाको विषय मुख्य एजेन्डा रहनेछ । ‘कोलम्बोमा बस्ने बैठकमा विश्वकपको समीक्षालगायत आर्थिक रूपमा व्यहोरेको घाटामाथि बहस हुनेछ,’ आइसिसीका एक पदाधिकारीले भनेका छन्, ‘आखिर यति ठूलो धनराशि खर्च गरेर अमेरिकामा विश्वकप आयोजना गर्दाको फाइदा र बेफाइदाको विषयमा बैठकमा गम्भीर छलफल हुनुपर्छ ।’ अमेरिकामा अस्थायी प्रकृतिको संरचना निर्माणका लागि गरेको ठूलो धनराशिबारे उनले प्रश्न गरेका छन् । ‘यसको जिम्मेवारी कसले लिने ?’ उनले भने । बोर्ड बैठकमा वेस्ट इन्डिजमा भन्दा पनि अमेरिकामा भएका खेल र दर्शकका विषयमा समीक्षा हुनेछ । साथै, अमेरिकाले अस्ट्रेलियामा निर्माण भएका पिचको गुणस्तरसँगै रंगशालामा दर्शकको न्यून उपस्थितिजस्ता विषयमा पनि छलफल हुने आइसिसीका पदाधिकारीले जनाएका छन् ।
न्युयोर्कको नासाउ काउन्टी क्रिकेट रंगशाला दुई महिनामा निर्माण सम्पन्न गरिएको थियो । अमेरिकाले पिच अस्ट्रेलियाबाट तथा प्यारापिट फर्मुला वानबाट झिकाएको हो । अस्थायी रूपमा निर्माण भएको नासाउ रंगशाला प्रतियोगिताको समाप्तिसँगै भत्काइयो । यहाँ पार्क बनाइनेछ । यसै रंगशालामा भारत र पाकिस्तानबीच खेल भएको थियो । अमेरिकामा विश्वकपका महत्वपूर्ण खेल वर्षाले बिथोलेको थियो ।
फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक टी–२० विश्वकप हात पारेको थियो । एक महिनासम्म चलेको विश्वकपका ५५ मध्ये १६ खेल अमेरिकामा भएको थियो । अमेरिकाले पहिलोपटक विश्वकप आयोजना गरेको हो । पाकिस्तानलाई स्तब्ध पार्दै अमेरिका डेब्यु विश्वकपमै सुपर एटमा पुगेको थियो । प्रतियोगिताका लागि अमेरिकाले तीन रंगशाला बनाएको थियो ।