पेरिस ओलम्पिक खेलकुद प्रतियोगिता सुरु हुन नौ दिन बाँकी छ । युरोपियन राष्ट्र फ्रान्सको पेरिस सहरले तेस्रोपटक ओलम्पिक खेल आयोजना गर्दै छ । यसअघि पेरिसमा सन् १९०० र १९२४ मा ओलम्पिक खेलकुद भएको थियो । पेरिसले ठ्याक्कै सय वर्षपछि ओलम्पिक आयोजना गर्ने अवसर पाएको हो । युरोपमा बेलायतको लन्डनले पनि तीनपटक आयोजना गरेको छ । लन्डनमा सन् १९०९, १९४८ र २०१२ मा आयोजना भएको थियो ।
एक शताब्दीपछि आयोजना गर्ने अवसर पाउँदा फ्रान्सले अहिलेसम्मकै उत्कृष्ट ओलम्पिक प्रतियोगिता हुने योजना बनाएको छ । पेरिसले यसलाई ‘गेम्स वाइड ओपन’ भनेको छ । यसको अर्थ हो, ‘बृहत् खेल, अन्यभन्दा फरक पेरिस’ । ओलम्पिक खेलकुदको उद्घाटन नदीकिनारमा हुनेछ । उद्घाटन खेलमा ६ लाख दर्शकको सहभागिता रहने अनुमान छ । हालसम्म दुई लाख २२ हजार टिकट बिक्री भइसकेको छ । ओपनिङ खेल विश्वभरका टेलिभिजनबाट एक अर्ब ५० करोड दर्शकले हेर्ने अनुमान छ । १७ दिनसम्म चल्ने प्रतियोगितामा एक करोड टिकट बिक्री हुने अनुमान छ ।
ओलम्पिक टर्चको १२ हजार किमि यात्रा तय
गत १६ अप्रिलमा ओलम्पिक टर्च रिले भएको थियो । ओलम्पिकको उद्गमस्थल एथेन्समा ओलम्पिक टर्च प्रज्वलन भएको थियो । एथेन्सबाट सुरु भएको ओलम्पिक टर्चको यात्रा ९ मेमा मार्सिले पुगेको थियो । फ्रान्सको मोनाको सहरमा केही दिन राखिएको थियो । विश्वको विभिन्न सहरमा ६८ दिनसम्म ओलम्पिक टर्च यात्रा हुँदा १२ हजार किमि पूरा भएको थियो । आयोजकको दाबीअनुसार अहिलेसम्मकै बृहत् ओलम्पिक खेलकुद नै पेरिसमा हुनेछ ।
पेरिस मुख्य ओलम्पिक खेलकुद प्रतियोगिताको सहर हो । तर, फ्रान्सका अन्य १६ सहरमा ओलम्पिक खेलका हुनेछन् । पेरिसबाट यो १० किमिदेखि सात सय किमि दूरीमा रहेको छ । पेरिसले यसपटक पदक आकर्षक बनाएको छ । पदकमा सुनले लेपन गरिएको छ । उच्चकोटिको लेपनमा कुनै रसाइन नमिसाएको आयोजकले जनाएको छ ।
नदीकिनारमा उद्घाटन
उद्घाटन खेल भव्य बनाउन आयोजकले विभिन्न योजना बनाएको छ । इतिहासमै पहिलोपटक ओलम्पिक खेलको उद्घाटन नदीकिनारमा हुन लागेको हो । तीन घण्टासम्म चल्ने उद्घाटन समारोहमा तीन हजार कलाकरले प्रस्तुति दिनेछन् । पेरिस सहरभन्दा ६ किमि टाढा रहेको नदीकिनारमा ११ हजार खेलाडी तथा अफिसियलले मनोरञ्जन दिनेछन् ।