डेनमार्कमा हुने डाना कप युथ लिगमा सहभागी हुने अरियम स्पोर्टस् एकेडेमीका खेलाडीको बिहीबार बिदाइ गरिएको छ । खेलाडीका परिवार र एकेडेमीका पदाधिकारीले टोलीका सदस्यलाई बिदाइ गरेका हुन् ।
१२ खेलाडीसहितको टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ । दिवस अगस्तीको प्रशिक्षणमा रहेको टोलीमा आर्जल अधिकारी, रोयल्सा गिरी, प्रिन्स भण्डारी, निर्भीक सिंह, युस दुलाल, समीक गिरी, आभास तामाङ, प्रतिक उप्रेती, रोशन चन्द, आरोग्य श्रेष्ठ, श्रेयस पौडेल क्षेत्री, सुएव शर्मा दुलाल छन् । व्यवस्थापकमा राजेन्द्र रिमाल रहेका छन् ।
प्रतियोगितामा नेपालबाट विभिन्न ६ टोली सहभागी हुँदै छन् । २२ देखि २७ जुलाईसम्म हुने प्रतियोगितालाई विश्वकै पुरानो र उत्कृष्ट युथ लिग मानिन्छ । प्रतियोगितामा १२ देखि १९ वर्षसम्मका महिला तथा पुरुष टोलीले सहभागिता जनाउनेछन् ।
यो प्रतियोगिता सन् १९८२ देखि सुरु भएको हो । प्रतियोगिताका लागि नेपालबाट रेफ्री लक्ष्मी श्रेष्ठ र विष्णु पौडेल पनि सहभागी हुनेछन् । लक्ष्मीले तेस्रोपटक डाना कप खेलाउन लागेकी हुन् ।