नयाँ सरकारले कसरी अघि बढाउला नेपाल–भारत सम्बन्ध?

कांग्रेस र एमालेको सत्तागठबन्धनले नेपालको निर्णायकत्व स्थापित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्ने परराष्ट्रविद्हरूको सुझाव

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

ओलीलाई मोदीको बधाई : नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनु भएकामा केपी शर्मा ओलीलाई हार्दिक बधाई । हाम्रा दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई अझ बलियो बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रा पारस्परिक लाभदायक सहकार्यलाई थप विस्तार गर्न मिलेर काम गर्न तत्पर छु ।

नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । शीतलनिवासमा शपथग्रहण समारोहको तयारी भइरहँदा सोमबार बिहान ११ बजेर १३ मिनेटमा मोदीले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका हुन् ।

‘नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनु भएकामा केपी शर्मा ओलीलाई हार्दिक बधाई । हाम्रा दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई अझ बलियो बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रा पारस्परिक लाभदायक सहकार्यलाई थप विस्तार गर्न मिलेर काम गर्न तत्पर छु,’ मोदीले बधाई सन्देशमा भनेका छन् । प्रधानमन्त्री ओलीको शपथ बिहान ११ बजेका लागि तय भएको थियो, त्यही समयलाई आधार मानेर मोदीको बधाई सन्देश आएको थियो ।

प्रधानमन्त्री ओलीले अपराह्न ४ बजेर ९ मिनेटमा एक्समार्फत मोदीलाई धन्यवाद दिएका छन् । ‘न्यानो बधाईका लागि धन्यवाद प्रधानमन्त्री मोदी,’ ओलीले जवाफ फर्काएका छन्, ‘म पारस्परिक हितका लागि नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्न तपाईंसँग निकट रूपमा काम गर्न प्रतिबद्ध छु । सँगै हामीले हाम्रो ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ ।’ 

यसअघिका सार्वजनिक सन्देशमा एकअर्कालाई ‘जी’ सम्बोधन गर्ने गरेकामा दुवैले यसपटक त्यसो गरेनन् । मोदीले ‘प्रधानमन्त्री भएकोमा ओलीलाई बधाई’ भनेका छन् भने ओलीले ‘न्यानो बधाईका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद’ भनेका छन् । एकजना पुराना कूटनीतिज्ञले यसलाई ‘बधाई र धन्यवादमा आत्मीयता नभएर औपचारिकता रहेको’ टिप्पणी गरे । ‘नेपाल–भारत सम्बन्धको आत्मीयता झल्किनुपर्नेमा दुवैले औपचारिकता सार्वजनिक गर्नुको अर्थ छ । सम्बन्धलाई आत्मीय र विश्वसनीय बनाउन मिहिनेत आवश्यक छ भन्ने देखियो,’ ती कूटनीतिज्ञले भने । 

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि नवनियुक्त नेपाली समकक्षी डा. आरजु राणा देउवालाई एक्समा बधाई दिएका छन् । ‘नेपालसँग बहुआयामिक साझेदारी अभिवृद्धि गर्न मिलेर काम गर्न प्रतीरक्षारत छु,’ उनले भनेका छन् । यो पनि ओली–मोदी प्रतिक्रियाभन्दा फरक छैन । 

रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री : दुवै छिमेकीसँगको सम्बन्धमा विश्वासको सञ्चिति रित्तिएको अवस्थामा सैद्धान्तिक र नीतिगत असंगति भएका दुई प्रमुख दलको सरकार बनेको छ । बोझिलो शंकालु वैदेशिक नजर नेपालको राजनीति र कूटनीतिका लागि चुनौतीपूर्ण हुनेछ ।

डा. दिनेश भट्टराई, पूर्वराजदूत : विवेक देखाउने हो भने भूराजनीतिको आर्थिक फल पनि हाम्रै ढोकामा छ । दुई अर्बभन्दा बढी जनसंख्याको बजार हाम्रो अगाडि छ । तर, छिमेकीको विकास पोखिएर आउँदैन, हामीले मिहिनेत गर्नुपर्छ । घर ठीक गर्नुपर्छ ।

विनोज बस्न्यात, पूर्वउपरथी : नेपालको आर्थिक व्यवस्थालाई सम्बोधन गर्न तत्काल, अल्पकालीन र दीर्घकालीन एवं राष्ट्रिय नीति, यस आधारमा दूरदर्शी राष्ट्रिय विकास योजनासहितको रणनीतिक प्रयासले मात्रै नेपाललाई भूराजनीतिक अनिश्चितताबाट बचाउन सक्छ ।

नवनियुक्त परराष्ट्रमन्त्री राणा भन्छिन्– नेपाल प्रथम नीति अघि बढ्छ 
नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पञ्चशीलमा आधारित र नेपाल प्रथम परराष्ट्र नीति अघि बढाउने बताएकी छन् । सोमबार पदभार ग्रहण गरेपछि परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीसँग उनले भनिन्, ‘हाम्रो परराष्ट्र नीति एउटै छ– नेपाल प्रथम नीति । यसलाई मध्यनजर अघि बढ्छु ।’ उनले इतिहास, भूगोल र प्रमाणका आधारमा भारतसँगको सीमा विवाद टुंग्याउने विश्वास व्यक्त गरिन् । नेपाल–भारत सीमा विगतमा जस्तो असुरक्षित नभएको र अहिले प्रविधि, स्याटलाइटले अनुगमन सजिलो बनाएको उनको भनाइ थियो । कहिल्यै पराधीन हुनु नपरेको इतिहासलाई अब आउने पिँढीका लागि जोगाउन आफूले नेतृत्व लिने उनको भनाइ थियो । उनले छिमेकीसहित दौत्यसम्बन्ध भएका मुलुक, संयुक्त राष्ट्रसंघलगायतसँग सहकार्य सुदृढ गर्ने पनि बताइन् ।  परराष्ट्रमन्त्री राणाले प्यालेस्टाइनमा हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइलगायतका कार्यमा आफू सक्रिय हुने पनि उल्लेख गरेकी छिन् । उनले रुसी सेनामा नेपालीहरूको उद्धारमा पनि आफ्नो प्राथमिकता रहने बताइन् । उनले राष्ट्रिय दिवसहरूमा बैठकको ढाँचा स्वीकृत गर्ने पहिलो निर्णय गरेकी छन् ।

बोझिलो शंकालु वैदेशिक नजर चुनौतीपूर्ण 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरको बधाई सन्देशमा व्यक्तिगत आत्मीयताभन्दा औपचारिकता धेरै छ । यसलाई विश्वासमा बदल्न मिहिनेत गर्नुपर्ने विज्ञ तथा अनुभवीहरू बताउँछन् । प्रमुख दल कांग्रेस र एमालेको सत्तागठबन्धनले नेपालको निर्णायकत्व स्थापित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । 

‘दुवै छिमेकीसँगको सम्बन्धमा विश्वासको सञ्चिति रित्तिएको अवस्थामा सैद्धान्तिक र नीतिगत असंगति भएका दुई प्रमुख दलको सरकार बनेको छ । बोझिलो शंकालु वैदेशिक नजर नेपालको राजनीति र कूटनीतिका लागि चुनौतीपूर्ण हुनेछ,’ पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भने ।

पूर्वराजदूत एवं तत्कालीन प्रधानमन्त्रीद्वय सुशील कोइराला र शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार रहेका डा. दिनेश भट्टराईको बुझाइमा भारत, चीन र अमेरिकाको त्रिकोणात्मक प्रतिस्पर्धा नेपालको दैलोभित्र प्रवेश गरिसकेको छ । ‘विवेक देखाउने हो भने भूराजनीतिको आर्थिक फल पनि हाम्रै ढोकामा छ । दुई अर्बभन्दा बढी जनसंख्याको बजार हाम्रो अगाडि छ । तर, छिमेकीको विकास पोखिएर आउँदैन, हामीले मिहिनेत गर्नुपर्छ । घर ठीक गर्नुपर्छ,’ पूर्वराजदूत भट्टराईले भने । छिमेकी देशहरूसँग सम्बन्धको गुणस्तर बढाउन उनी सुझाव दिन्छन् । 

त्रिभुवन विश्वविद्यालयको नेपाल  र एसियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीको विश्लेषणमा प्रमुख दल कांग्रेस र एमालेको भूराजनीतिक दर्शन, सिद्धान्तबीच मध्यमार्गी खोजेर छिमेकीसहितका देशसँग फाइदा लिने कदम चाल्नु आवश्यक छ । ‘यसका लागि चाहना र तत्परता दुवै आवश्यक छ । छिमेकी र मित्र देशहरूलाई विश्वासमा लिएर राष्ट्रिय हित प्रवद्र्धन गर्ने र आर्थिक समृद्धिको बाटोमा अगाडि जाने अवसर अहिले छ,’ उनी भन्छन्, ‘परराष्ट्र मामिला सञ्चालनमा परिपक्वता र अन्तर्राष्ट्रिय स्वीकार्य स्थापित भएका दुई दलको सार्थक प्रयासले भूराजनीतिक सन्तुलन कायम हुन सक्ने ठाउँ छ ।’ 

भूराजनीतिका जानकार नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातको बुझाइमा भौगोलिक वास्तविकता र राष्ट्रिय आवश्यकताहरू स्वीकार गरेर नयाँ गठबन्धनले भूराजनीतिक आकांक्षा सम्बोधन गर्नुपर्ने बताउँछन् । ‘नेपालको आर्थिक व्यवस्थालाई सम्बोधन गर्न तत्काल, अल्पकालीन र दीर्घकालीन एवं राष्ट्रिय नीति, यस आधारमा दूरदर्शी राष्ट्रिय विकास योजनासहितको रणनीतिक प्रयासले मात्रै नेपाललाई भूराजनीतिक अनिश्चितताबाट बचाउन सक्छ,’ बस्न्यात भन्छन् । 

सुझावित समाचार