सिमलताल दुर्घटना : तेस्रो दिन पनि भेटिएनन् बस, बेपत्ता ६२ मध्ये नौजनाको शव फेला

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकबाट त्रिशूली नदीमा यात्रुसहित खसेका दुई बस तीन दिनसम्म पनि फेला परेका छैनन् । गोताखोरसहितको टोलीले खोजी गर्दा पनि बस भेटिएका छैनन् भने आइतबार थप ६ बेपत्ताको शव भेटिएको हो । शनिबार तीन शव भेटिएका थिए ।

दुई बसमा सुरुमा ५१ यात्रु रहेको अनुमान गरिएको थियो । तर, जिल्ला प्रशासन कार्यालय चितवनको पछिल्लो तथ्यांकअनुसार बसमा ६२ जना यात्रु रहेका थिए । तीमध्ये तीनजनाले झ्यालबाट हामफालेर, नदीमा पौडिएर ज्यान जोगाएका थिए । पछिल्लो तथ्यांकअनुसार अझै ५० जना बेपत्ता छन् ।

शव भेटिएका पाँचजनाको मात्रै पहिचान खुलेको छ । चितवन प्रशासनका अनुसार भारतीय नागरिक २८ वर्षीय ऋषिपल साह, ३० वर्षीय जयप्रकाश ठाकुर, ४० वर्षीय सजाद अन्सारी, सर्लाहीका ११ वर्षीय रमित माझी र चितवनका २२ वर्षीय विकास परियारको शव मात्र पहिचान भएको हो । 

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बर र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३–००६ ख १५१६ नम्बरका बस शुक्रबार बिहान साढे ३ बजे सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए । टिकट काउन्टरको चलानमा रहेअनुसार गणपति डिलक्समा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तले टिपाएको विवरणका आधारमा थप ११ यात्रु रहेको खुलेको छ । पछिल्लो तथ्यांकअनुसार यो बसमा ३८ यात्रु थिए । तीन सकुशल भएका यात्रु पनि यही बसका हुन् भने भेटिएकामध्ये तीन शव यही बसका यात्रुका हुन् । त्यस्तै, एञ्जल डिलक्सको टिकट काउन्टर चलानमा २३ र आफन्त सम्पर्कमा आएर दिएको विवरणका आधारमा थप चारजना गरी कुल २७ यात्रु रहेको खुलेको छ । चितवन सिडिओ इन्द्रदेव यादवका अनुसार भेटिएका शवमध्ये पहिचान खुलेका अन्य दुई यही बसका यात्रु हुन् । भेटिएका चार शवको पहिचान खुल्न सकेको छैन । 

खोताखोर टोलीले वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामरा, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एन्कर) को प्रयोग गरेर बेपत्ता बस र यात्रु खोजिरहेको छ । किनारवारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ । बेपत्ताका परिवार तथा आफन्तले भने आफ्ना मान्छो छिटो खोजिदिन प्रशासनलाई सामूहिक हारगुहार गरेका छन् । 

मृत फेला परेका व्यक्ति
- ऋषिपाल साह (भारत)
- विकास परियार (चितवन, माडी)
- रमितकुसर माझी (सर्लाही, बरहथवा)
- जयप्रकाश ठाकुर (भारत, चम्पारण)
- सजाद अन्सारी (भारत, बेतिया)
- अन्य चार शवको पहिचान खुलेको छैन । पूर्वी नवलपरासीको त्रिवेणी गाउँपालिका– ७, गण्डक नहरमा दुई र पश्चिम नवलपरासीको सुस्तामा एक तथा चितवनको भरतपुर– २६, सिसुवारमा एकको शव भेटिएको हो । 

See More On

सुझावित समाचार