अन्टसन्ट बोलेर मुकुलले कुटाइ खाने प्रयास गर्दै छन्, परिवारले हेरचाह गर्नू : मनीष झा

समस्या खडा गर्न नसकेपछि मुकुलले भिक्टिम कार्ड खेलेकाे दाबी

आइतबार, ३१ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनीष झाले कारबाहीमा परेपछि मुकुल ढकालले ‘भिक्टिम कार्ड’ खेलिरहेको बताएका छन्। मुकुलले आज आइतबार आफूमाथि उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट कुटपिटको धम्की आएको सामाजिक सञ्जालमार्फत बताएका थिए।

त्यसको प्रतिक्रियामा झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिने गरी रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दै छन्।’

आरोप लगाउँदा जनताले पत्याउने सोचेर मुकुलले झुठमाथि झुठ बोलेकाे भन्दै झाले अगाडि लेखेका छन्, ‘प्रेस मिट गरे, साराले गाली गरे। टीकाराम यात्रीसँग अन्तर्वार्ता गरेर कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठमाथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए। अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउँदै छन्।’

अन्टसन्ट बोलेर कुटाइ खाने प्रयास गर्ने, कृत्रिम दुर्घटना गराएर दोष लगाउने, पार्टी कार्यालयमा हुल हुज्जत गरी पक्राउ पर्नेजस्ता अप्रिय प्रयास गर्ने मुकुलको योजना हुन सक्ने भन्दै झाले उनको हेरचाह गर्न परिवारलाई आग्रह गरेका छन्।

सुझावित समाचार