रौतहट राजदेवी नगरपालिका– ९ का जोगेश्वर राय यादव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा १० वर्षीय छोरा अशोक र ३५ वर्षीया छोरी अमृताकुमारीको उपचार गराएर छैटौँ दिन रात्रिबसमा घर फर्किँदै थिए । अमृताकी सात वर्षीया छोरी शिवानी र दुई वर्षीय छोरा आइरनसमेत गरी एउटै गाडीमा परिवारका पाँच सदस्य थिए । क्षणभरको महाविपत्ले जोगेश्वरलाई अस्पतालको बेडमा पुर्याएको छ भने छोरा, छोरी, नाति, नातिना चारैजना त्रिशूलीमा बेपत्ता छन् ।
शुक्रबार बिहान साढे ३ बजे चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा खसेको गेग्रान र लेदोसहितको पहिरोले धकेलेर गुड्दागुड्दैका दुई बस त्रिशूली नदीमा खसालिदिँदा ४८ यात्रु बेपत्ता भएका छन् । भेलमा पौडिएर तीनजनाले ज्यान जोगाएका छन्, त्यसमध्येकै एक हुन्– जोगेश्वर । काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९६ र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३००६ ख १५१६ नम्बरका बस पहिरोसँगै नदीमा खसेका हुन् । चालक दलका सदस्यसहित काठमाडौंबाट छुटेको बसमा २७ र वीरगन्जबाट छुटेकोमा २४ गरी ५१ जना सवार थिए । तीमध्ये काठमाडौं–रौतहटको बसका तीनजना पौडिएर जोगिएको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले जानकारी दिए । उनीहरू रौतहटको देवाही गोनाही नगरपालिका– १ का ३१ वर्षीय नन्द दास, राजदेवी नगरपालिका– ९ का जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका– ३ का २६ वर्षीय सुरज गुप्ता हुन् । घाइते अवस्थाका उनीहरूको चितवनकै नयाँ मेडिकल कलेजमा उपचार भएकामा सुरज डिस्चार्ज भइसकेका छन् । जोगेश्वर र नन्द भने उपचाररत छन् ।
वीरगन्ज–काठमाडौं बसमा तीन चालक दलका सदस्य, १४ नेपाली र सात भारतीय यात्रु रहेको पुष्टि भएको छ । एकै व्यक्तिको नाममा दुई–तीनजनासम्म यात्रुको टिकट काटिएकाले सबैको पहिचान यकिन हुन सकेको छैन ।
घटनापछि दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित गोताखोरको टोलीले खोजतलास गर्दा पनि बस र यात्रुको अवस्थाबारे पत्ता लागेको छैन । दुर्घटनास्थलनजिकै गाडीको पर्दा र बालकको ट्रयाक सुट भने फेला परेको र उक्त पर्दा वीरगन्जबाट छुटेको गाडीको भएको जनाइएको छ । गाडी सोही ठाउँमा भएको अनुमान छ । रात परेपछि रोकिएको खोजबिन शनिबार बिहानबाट फेरि सुरु हुने सिडिओ यादवले जनाए । वर्षा नरोकिएको तथा नदीमा पानीको बहाव उच्च रहेसँगै धमिलो हुनाले खोजीकार्यमा समस्या भएको उनले बताए ।
पहिरो खसेको क्षेत्र सिमलताल र आसपासका क्षेत्रमा बिहीबार राति भीषण वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म मुग्लिननजिकै १३२ मिलिमिटर र त्रिशूलीनजिकै कालीखोला क्षेत्रमा १२५ मिलिमिटर वर्षा रेकर्ड भएको बताए ।
जलवायु प्रकोपविज्ञ श्रीकमल द्विवेदी नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका क्रममा केवल सडकलाई मात्र ध्यान दिइएको र पहिरो न्यूनीकरण/नियन्त्रणका लागि काम नगर्दा समस्या बढेको बताउँछन् । ‘सिमलताल क्षेत्रमा सडकभन्दा माथि पनि पहिरो छ, तर सडक क्षेत्रमा वाल लगाउनबाहेक पहिरो नियन्त्रणको काम भएन । पहाड र पहिरोको फेद काट्न हतार छ,’ जलवायु प्रकोपविज्ञ द्विवेदीले भने, ‘वर्षासँगैको भेलले ग्रेगानसमेत बगाएर ल्याएको देखिन्छ ।’
पहिरो खसेको माथिल्लो क्षेत्रमा नारायणगढ–मुग्लिन सडक आयोजनाले खनेको कच्ची सडक छ भने त्यसबाहेकका ग्रामीण सडक पनि छन् । ‘बाटो बनाउँदै खोल्सीमा ढुंगा–माटो फ्याँक्ने गरिएको छ, बर्खामा त्यही गेग्रान बगेर क्षति गरिरहेको छ,’ उनले भने । सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेल पहिरोले गाडी बगाएको सिमलताल क्षेत्र पहिरोको जोखिम क्षेत्र नभएको दाबी गर्छन् । ‘यो ठाउँ हामीले जोखिममा राखेको ठाउँ होइन,’ उनले भने, ‘गाडी खसेको भनेको ठाउँमा हामीले सडक विस्तार गर्दा पहाड काटेको ठाउँ पनि होइन, सडक बढाएको ठाउँ पनि होइन । किन यो क्षेत्र जोखिम भयो भनेर हामी शनिबार अध्ययनका लागि जाँदै छौँ ।’
यो सडक ०७२ मा स्तरोन्नति गर्दा ३१ ठाउँमा पहिरोको जोखिम पहिचान गरिएको थियो । सडक डिभिजनले ती ठाउँमा ५० करोड खर्च गरिसकेको छ । तर, अझै पहिरो नियन्त्रणमा आउन सकेको छैन । उल्टो नयाँ–नयाँ ठाउँमा पनि पहिरोको जोखिम बढेको छ ।
बस खसेको देख्ने स्थानीय दम्पती भन्छन्– उज्यालो चिज खोलामा खसेपछि त गाडी नै खस्यो भन्ने लाग्यो
बस खसेको स्थानबाट त्रिशूली नदीपारि जंगबहादुर र लुकमाया मगरको घर छ । उक्त ठाउँ तनहुँको आँबुखैरेनी गाउँपालिका– ५, दोद्राङबेँसी हो । बस खसेको प्रत्यक्ष देखेको उनीहरूले बताए । ‘बेलुकीदेखि नै ठूलो पानी परिरहेको थियो । हामी घरबाहिर पिँढीमै सुतेका थियौँ । पारि सडकमा पहिरो खसेकाले जेसिबीले पहिरो पन्छाइरहेको थियो । पहिरो पन्छाएर गाडी चल्न सुरु भएपछि फेरि खसेको पहिरोले गाडी लगेको हो,’ जंगबहादुरले भने, ‘उज्यालो चिज खोलामा खसेपछि त गाडी नै खस्यो भन्ने लाग्यो । बत्ती झल्याकझुलुक गर्दै खसेको मैले देखेँ । कतिवटा खस्यो भन्नेचाहिँ थाहा पाइनँ ।’ तीनपटकसम्म गाडी गड्याङगुडुङ गर्दै पल्टिएपछि नदीमा पुगेको र आवाज पनि सुनेको लुकमायाले सुनाइन् ।
पौडी खेलेर बाहिर निस्किए तीनजना
काठमाडौंबाट रौतहट जाँदै गरेको गणपति डिलक्स बस त्रिशूलीमा खसे पनि तीन यात्रु पौडेर बाहिर निस्किन सफल भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–१ का ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका– ९ का जोगेश्वर राय यादव र गण्डमाई नगरपलिका– ३ का २६ वर्षीय सुरज गुप्ता पौडिएर निस्किएका हुन् । घाइते उनीहरूलाई भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । सुरज भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
अस्पतालको बेडबाट रौतहटका जोगेश्वर राय यादवको बिलौना–छोराछोरीको उपचार गर्न नातिनातिनासहित काठमाडौं गएको थिएँ, म त बाँचेँ, तर सबै खत्तम भयो
छोरा र छोरीको उपचारका लागि काठमाडौं आएका थियौँ । मसँगै कान्छो छोरा अशोक (१० वर्ष), छोरी अमृता (३५ वर्ष), नाति र नातिनी (अमृताकी सात वर्षकी छोरी शिवानी र दुई वर्षको छोरा आइरन) आएका थिए । छोराको पेटमा समस्या, छोरीको कम्मर र ढाडको दुखाइको टिचिङ अस्पतालमा उपचार गरेपछि छैटौँ दिन घर फर्किँदै थियौँ । घर पुगेर खेत रोप्ने तयारी थियो ।
हामीहरू कलंकीभन्दा थोरै तलबाट गाडी चढेको हो । त्यहीँ नजिकै बस्ने आफन्तकहाँ खाना खाएर साँझ ८ बजेतिर हामी गणपति ट्राभल्सको बस चढेका थियौँ । मुग्लिनमा खाना खान गाडी रोक्यो । पानी एकदमै धेरै परेको थियो । केही अगाडि पुगेपछि गाडी ४०/४५ मिनेट जाममा पनि प¥यो । बिस्तारै गाडी अगाडि बढ्दै थियो । छोरा सुतेको थियो, हामी अरू गफ गर्दै थियौँ ।
मैले वीरगन्जबाट आएको बस पनि देखेको थिएँ । तर, एकाएक हाम्रो गाडी ब्यालेन्स बिग्रेजस्तो भयो । पाँचपटक गाडी बल्ड्याङ खाएकोसम्म याद छ । त्यसपछि गाडी पानीमा पसेजस्तो लाग्छ । मैले चार–पाँच घुट पानी खाएँ । सायद झ्यालबाट बाहिर निस्किएछु कि क्या हो । पौडिँदै किनारमा पुगेँ । पानी परिरहेको रातिको समयमा नदीकिनारबाट पहाड उक्लिएर माथि बाटोमा निस्कन एक घण्टाजति लाग्यो । मैले लगाएको कपडामा गाडीको सिसैसिसा लागेको थियो । म त बाँचेँ, तर सबै खत्तम भयो । म नै बर्बाद भएँ । छोराछोरीको उपचार गर्न काठमाडौं लगेको थिएँ, तर उनीहरूसँगै नातिनातिना कस्तो हालतमा छन्, केही पत्तो छैन ।
रौतहटको देवाही गोनाही नगरपालिकाका नन्दन दास (३१) भन्छन्–जीवन यत्ति रहेछ भन्ने लागेको थियो, भगवान्ले बचाए
मलेसिया पाँच वर्ष बसेर पाँच महिनाअघि फर्किएको थिएँ । घरमा छोराछोरी साना छन्, उनीहरूका लागि भनेर फेरि विदेश जाने तयारी गरेँ । बहराइन जान स्वास्थ्य जाँच गर्न काठमाडौं गएको थिएँ । जाँच गराएर फर्किँदै थिएँ । गणपति डिलक्स बसको १० नम्बर सिटमा थिएँ । मुग्लिनमा खाना खाएर हिँडेको करिब डेढ घण्टामा बस सडकबाट नदीमा खसेको हो । हामी करिब ३०–३५ जना बसमा थियौँ होला, एक्कासि बस भिरतिर खस्यो । पल्टिँदै–पल्टिँदै बस नदीमा पुगेछ । झ्यालबाट बाहिर निस्किएँ । उर्लिएको नदीमा पौडिरहेको थिएँ । तर, कता जाँदै छु थाहा थिएन । जीवन यत्ति नै रहेछ भन्ने मनमा लाग्न थालेको थियो । तैपनि भगवान्को नाम लिँदै पौडी खेलिरहेको थिएँ । धन्न भगवान्ले सुने, बचाए । पौडिँदै जाँदा किनार पुगेछु, ढुंगा र त्यसपछि झाडी भेटियो । झारहरू समातेर किनार लागेँ । त्यसपछि बल्लबल्ल माथि बाटोमा उक्लिएँ । सुरुमा भेटेको गाडीका चालकलाई बस खसेको बताएँ । उनले प्रहरीलाई फोन गरिदिए । त्यसपछि प्रहरीले अस्पताल ल्याइदियो । डाक्टरले चिउँडोमा भित्री चोट देखिएकाले शल्यक्रिया गर्नुपर्छ भनेर भन्नुभएको छ । मसँग विदेश जान ठीक पारेका स्वास्थ्य जाँचसहितका कागजपत्र थिए, ती सबै नदीमै बगे ।
घरमा पहिरो खस्दा दम्पतीको मृत्यु
म्याग्दी/ म्याग्दीको धौलागिरि गाउँपालिका– ७ ताकममा पहिरोमा घर पुरिँदा दम्पतीको ज्यान गएको छ । बिहीबार राति पहिरो खस्दा ६५ वर्षीय तुलप्रसाद न्यौपाने र उनकी श्रीमती ४९ वर्षीया बालकुमारीको मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार पहिराले दम्पती सुतेको कोठा पूर्ण रूपमा क्षति भएको छ ।
निरन्तरको झरीले म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पहिरोमा घर पर्दा कास्कीमा एकै परिवारका ६ सहित ११ को मृत्यु
कास्की/ लगातारको वर्षापछि कास्कीका तीन स्थानमा गएको पहिरोमा परेर एकै परिवारका ६ सहित ११ जनाको मृत्यु भएको छ । पहिरोमा घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । अन्य चारजना घाइते छन् ।
बिहीबार राति पोखरा महानगरपालिका– १९, तल्लाकोट टारीमा ४६ वर्षीय कुलबहादुर परियारको कच्ची घर पहिरोले पुरिँदा उनीसहित परिवारका ६ र उद्दार गर्न आएकी एक छिमेकी महिला गरी सातजनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले बताए । मृत्यु हुनेहरूमा कुलबहादुरकी आमा ८५ वर्षीया लक्षिमा, श्रीमती ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, छोरी २० वर्षीया प्रभा र श्रीमतीसँगै ससुराली आएका प्रभाका श्रीमान् २५ वर्षीय अस्मित परियार छन् । प्रभा र अस्मित स्याङ्जास्थित घरबाट स्वास्थ्य परीक्षणका लागि पोखरा आएका थिए ।
मृतक कुलबहादुरसँगै परिवारका चारजना र छिमेकी एक गरी पाँच जनाको शुक्रबार सेती नदी किनारमा सामूहिक दाससंस्कार गरिएको छ । प्रभा र अस्मितको शव भने दाससंस्कारका लागि स्याङ्जा लगिने भएको छ ।
त्यस्तै, शुक्रबार पोखरा– ३२, बाह्रबिसेमा आरती ओझाको कच्ची घर पहिरोले पुर्दा उनका दुई छोरी र एक भतिजको मृत्यु भएको छ । छोरीहरू १८ वर्षीया अनिता र ११ वर्षीया अनुष्का तथा भतिज नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते आरतीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, मादी गाउँपालिका– ११, तल्लो ताप्लेमा कच्ची घर पहिरोमा पुरिँदा ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । घटनामा उनका छोरा ५५ वर्षीय ओमबहादुर घाइते भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा उनको उद्धार भएको थियो ।
सानो पहिरोको बेवास्ता गर्दा भोलिपल्ट ठूलो क्षति
एकै परिवारका ६ जनाको ज्यान गएको पोखरा– १९, तल्लाकोटका कुलबहादुर परियारको घरपछाडि बुधबार नै सानो पहिरो खसेको थियो । बाजा बजाउने पेसामा लागेका कुलबहादुर उक्त पहिरोको बेवास्ता गर्दै बिहीबार पोखरा बजारतिर काममा लागे । बिहीबार बिहानैदेखि पानी नपरेका कारण उनी थप पहिरो नखस्नेमा ढुक्क थिए । माटो सुकेपछि पन्छाउने योजनामा थिए । वडाका जनप्रतिनिधिले भने जोखिम नमोल्न र सुरक्षित ठाउँमा सर्न सुझाव दिएका थिए । तर, अपराह्न ४ बजेपछि ठूलो पानी परेसँगै ठूलो पहिरो खसेर राति घर पुरिएको थियो ।
छोरी–ज्वाइँ पनि आएकाले राति पौने १० बजेसम्म देवरकै घरमा गफगाफ गरेर बसेकी कुलबहादुरकी भाउजु कोपिला परियारले भनिन्, ‘अस्ति घरमाथिबाट अलिकति सानो पहिरो आएको थियो । अब आउँदैन होला, आयो भने भाग्ने, घरमै बस्ने निर्णय भयो । रातभर नसुत्ने र घरको ढोकासमेत नलगाउने कुरा भएको थियो । म आडैको आफ्नो घर फर्किएको केही समयपछि भुइँचालो आउँदाजस्तो आवाज र कम्पन महसुस भयो । हामी घरबाट तत्काल उठेर भाग्यौँ । तर, परिवारमा ठूलो मानवीय क्षति भयो ।’
बसमाथि खसेको ढुंगाले लागेर चालकको मृत्यु
चितवन/ शुक्रबार बिहानै रूपन्देहीबाट काठमाडौं जाँदै गरेकोे बसमा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर– २९, सत्रकिलोमा ढुंगा खसेर चालकको मृत्यु भएको छ । पहिरोसहित खसेको ठूलो ढुंगाले लु.२ख ६५६६ नम्बरको गाडीका चालक नवलपरासी सुनवल नगरपालिका– ५ का ३६ वर्षीय मेघनाथ विकलाई लागेको थियो । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ढुंगाले गाडीको स्टेरिङसहित अगाडिको सिसामा पूर्ण रूपमा क्षति पुगेको छ । यद्यपि, गाडीमा सवार यात्रुहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिरोको उच्च जोखिम भएका सडक रातिमा बन्द गर्न गृह मन्त्रालयको निर्देशन
बाढीपहिरोले गाडी बगाउने क्रम बढेपछि गृह मन्त्रालयले रातिको समयमा उच्च जोखिम भएका सडक बन्द गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । चितवनमा शुक्रबार बिहान दुई बस पहिरोले बगाएपछि गृहले यस्तो निर्णय गरेको हो ।
गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले मौसम बुलेटिनअनुसार पूर्वसावधानीका लागि जोखिमपूर्ण सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । साथै, सडकको अवस्थाबारे राजमार्गका खटिएका सुरक्षाकर्मीले सर्वसाधारणलाई सडकको अवस्थाबारे सूचना जारी गर्नसमेत निर्देशन दिएको छ ।