निर्माण व्यवसायीहरूले निर्माणको काम गरेबापतको भुक्तानी नदिएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडामा तालाबन्दी गरेका छन्।
विभिन्न अवधिमा विभिन्न क्षेत्रमा गरेको निर्माण कार्यको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले आज बिहान सडक डिभिजन कार्यालयमा तालाबन्दी गरेका हुन्।
उनीहरूले तालाबन्दीसँगै कार्यालयमा धर्नासमेत दिएका थिए । सरकारी विकास निर्माणको काम गरेबापतको भुक्तानी नपाउँदा सप्लाई चेन नै अस्तव्यस्त भएको भन्दै उनीहरूले तत्काल भुक्तानी उपलब्ध गराउन माग गर्दै आएका छन्।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले सरकारले निर्माण व्यवसायीहरूको आवाज नसुने थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिए। उनले प्रारम्भिक चरणमा सडक डिभिजन कार्यालय, हेटौँडामार्फत भएका कामको मात्रै निकासाका लागि दबाब दिन तालाबन्दी र धर्ना गरिएको बताए।
सडक डिभिजन कार्यालय हेटौँडामातहतका मकवानपुर, बारा र पर्सा जिल्लामा भएका कामको ३५ देखि ४० करोड रुपैयाँसम्म भुक्तानी पाउन बाँकी रहेको उनको भनाइ छ।
अध्यक्ष कँडेलले सडक डिभिजन कार्यालय र सरकारी तथा स्थानीय तहसहित गरेर करिब ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको जानकारी दिए।
काम सम्पन्न भएपछि बिल बुझाएर भुक्तानीका लागि पटकपटक ताकेता गर्दासमेत बेवास्ता गरिएकाले धर्ना र तालाबन्दीमा उत्रनुपरेको निर्माण व्यवसायीहरूको भनाइ छ । तालाबन्दी तथा धर्नामा मकवानपुरसहित बारा, पर्साका निर्माण व्यवसायी सहभागी थिए।