खेर गएन म्याक्रोँको चुनावी बाजी

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

मध्यावधि निर्वाचन परिणामपछि लडाइँ जितेका भए पनि म्याक्रोँका लागि व्यापक राजनीतिक संघर्ष जारी छ

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले युरोपेली संसद्को मतदानमा आफ्नो पार्टीले उग्र–दक्षिणपन्थी नेसनल र्याली (आरएन) बाट भारी पराजय भोगेपछि तुरुन्तै मध्यावधि चुनाव आह्वान गरेर मुलुक र विश्वलाई चकित पारेका थिए । केही गिनेचुनेका सल्लाहकारबाहेक म्याक्रोँले प्रधानमन्त्री गेब्रियल अट्टललगायत कसैलाई पनि चुनावबारे जानकारी दिएका थिएनन् । निर्वाचन परिणामपछि यो कदम म्याक्रोँका लागि ठूलो घाटाको देखिएन, किनभने उनको हार संकटमा परिणत भएन । 
सन् २०२२ को व्यवस्थापिका चुनावपछि म्याक्रोँले राष्ट्रिय सभामा बहुमत मात्रै हासिल गरेका थिए । उनले वामपन्थी र दक्षिणपन्थी झुकाव भएका गुटबाट समर्थन प्राप्त गरेर वा अध्यादेशको सहारा लिएर सेवानिवृत्तिको उमेर बढाउने, आप्रवासनमा कडाइ गर्ने महत्वपूर्ण सुधार गरेका थिए । यद्यपि म्याक्रोँले केही समयअगाडि आफ्ना बुबालाई राष्ट्रिय सभा ‘अशासकीय’ भएको र यसलाई भंग गर्ने आफ्नो मनसायबारे बताएर चुनावी प्रतिस्पर्धा सामना गर्ने निर्णय गरेका थिए ।

जब म्याक्रोँ पहिलोपटक सन् २०१७ मा राष्ट्रपति निर्वाचित भए, तब उनलाई पश्चिममा फैलिएको बढ्दो दक्षिणपन्थी शक्तिको लोकतान्त्रिक प्रतिरोधका रूपमा लिइएको थियो । पश्चिममा ब्रेक्जिट र अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको समयमा म्याक्रोँले उग्र–दक्षिणपन्थी शक्तिलाई हराएका थिए । निर्णायक रूपमा म्याक्रोँले ६६ प्रतिशत मत ल्याएका थिए भने आरएनका मरिन ले पेनले ३४ प्रतिशत । र, पाँच वर्षपछि पनि म्याक्रोँले ५९ प्रतिशत मत प्राप्त गर्दै यस्तै जित हासिल गरे । त्यसयता म्याक्रोँको लोकप्रियता घट्दै गयो भने आरएनको समर्थन तीव्र रूपमा बढ्यो । यो प्रवृत्ति सन् २०१९ को युरोपेली चुनावमा स्पष्ट भएको थियो, जब आरएनले म्याक्रोँको पार्टीलाई २२ देखि २३ प्रतिशतले पछि पारेको थियो । पाँच वर्षपछि जुनको युरोपेली संसद्को चुनावमा आरएनले ३१ प्रतिशत मत ल्याएको थियो भने म्याक्रोँको रेनेसाले १५ प्रतिशत । अर्थात् आरएनले दोब्बरभन्दा बढीले अग्रता प्राप्त गरेको थियो । राष्ट्रिय सभालाई तुरुन्तै भंग गर्ने म्याक्रोँको तर्कअनुसार मध्यावधि चुनावले ले पेनको पार्टीलाई कमजोर बनाउँछ भन्ने थियो र छोटो चुनावी अवधिमा आरएनमाथि रणनीतिक रूपमा ध्यान केन्द्रित गर्नु सजिलो थियो । आफ्नो राष्ट्रपतिकाल तीन वर्ष बाँकी रहँदै उनले ले पेनलाई सन् २०२७ मा राष्ट्रपति पदमा अघि बढाउँदा हुन सक्ने थप चुनावी लाभ रोक्न तुरुन्तै आरएनसँग प्रतिस्पर्धा गर्नु बुद्धिमानी भएको विश्वास गरेका थिए ।

पहिलो चरणको मतदानका क्रममा आरएनले थोरबहुत मध्यपन्थी बाटो लिने संकेत देखायो । पार्टीले राज्यका केही पदबाट दोहोरो नागरिकलाई बाहेक काम, आवास र कल्याणमा कुनै अमुक समूहका लागि ‘राष्ट्रिय प्राथमिकता’को पैरवी गरेन । पार्टीले ग्यास, पेट्रोल र बिजुलीमा मूल्य अभिवृद्धि कर ५.५ प्रतिशतमा घटायो । ६० वर्षमा हुने सेवानिवृत्तिलाई पुनर्विचार गर्यो, अर्थात् आरएनले न्यूनतम उमेर ६६ मा बढाउने प्रस्ताव गर्यो । त्यसैगरी युरोपेली विद्युतीय बजार छोड्ने आरएनको अडान अनिश्चित थियो । जबकि आरएनले आप्रवासनमा निरन्तर कडा अडान राख्दै आएको थियो र यीमध्ये धेरै अडान पहिल्यै लागू भएको अवस्था थियो ।

यद्यपि आरएनले निर्णायक रूपमा ३३ प्रतिशत मतका साथ पहिलो चरणको चुनाव जित्यो, जहाँ आरएनले म्याक्रोँको गठबन्धनलाई उछिन्यो (गठबन्धनले तेस्रो स्थान हासिल गर्यो) । र, अप्रत्याशित रूपमा बनेको वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्ट २८ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा पुग्यो । यसका बाबजुद उच्च मतदाताको मतदानका कारण म्याक्रोँको गठबन्धनले युरोपेली चुनावबाट आफ्नो भोट हिस्सा पाँच प्रतिशतले बढायो अर्थात् २० प्रतिशत मत सुरक्षित गर्यो ।

दोस्रो चरणको चुनावी अभियानले आरएनका शीर्षस्थ नेतामा नव–नाजी, नश्लभेदी र यहुदीद्वेषीको उपस्थिति भएको देखायो । यसले महत्वपूर्ण रूपमा एक नयाँ मुद्दा सिर्जना गर्यो । यसबाहेक आरएन उम्मेदवारको स्पष्ट अक्षमता पनि सतहमा आयो । रुसको विदेश मन्त्रालयले आरएनका नयाँ राष्ट्रपति उम्मेदवार जोर्डन बर्डेलालाई सार्वजनिक रूपमा समर्थन गरेकाले रुसी प्रभावको मुद्दा पुनः ब्युँतियो । स्मरण रहोस्, यसअघि ले पेनले सन् २०१७ को राष्ट्रपतीय चुनाव अभियानमा गरेको दाबीलाई क्रेमलिनले समर्थन गरेको थियो ।

आरएन पूर्ण बहुमत हासिल गर्न असफल भयो । न्यु पपुलर फ्रन्ट र एन्सेम्बलपछि तेस्रो स्थानमा रह्यो । र, एन्सेम्बलले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्यो । हाल राष्ट्रिय सभामा वामपन्थीको प्रभाव भए पनि कुनै गुट अर्थात् वामपन्थी, मध्यपन्थी वा उग्र–दक्षिणपन्थीसँग बहुमत छैन । ओलम्पिक खेल अवधिका लागि प्राविधिक सरकारबारे विचार गरिए पनि सम्भावित परिदृश्यमा ‘रिपब्लिकन’ पार्टीको गठबन्धन समावेश छ । यसमा कम्युनिस्टदेखि ग्रिन्स, समाजवादी, मध्यपन्थी र पुरातनपन्थीसम्मका छन्, जसले आगामी वर्षका लागि राजनीतिक एजेन्डामा सहमत हुने लक्ष्य राख्छन् ।

चार्ल्स डी गौलको नेतृत्वमा पाँचौँ गणतन्त्र स्थापनापछि फ्रान्सेली राजनीतिमा गठबन्धन सरकार बनेको छैन । पाँचौँ गणतन्त्रले बलियो राष्ट्रपतिलाई जोड दिएको थियो । जबकि, गठबन्धन तेस्रो र चौथो गणतन्त्रमा सामान्य थियो र अन्य युरोपेली देशमा पनि मौजुद थियो । म्याक्रोँको सरकारले हालैका वर्षमा संसदीय बहुमतको अभावमा चुनौती सामना गरेको छ, जसले गठबन्धनसहितको व्यवस्थाको सम्भावनालाई संकेत गर्छ । विडम्बना, म्याक्रोँको सन् २०१७ को राष्ट्रपतीय विजयमा गठबन्धनले महत्वपूर्ण भूमिका खेलेको थियो । राजनीतिमा तीन वर्ष लामो समय हो र अर्को सरकार जस्तोसुकै आकारमा भए पनि जीविका लागत संकट समाधान गर्न केन्द्रित हुनुपर्छ । म्याक्रोँले लडाइँ जितेका भए पनि उनका लागि व्यापक राजनीतिक संघर्ष जारी छ ।

(ड्रोचोन नटिंघम विश्वविद्यालयका राजनीतिक सिद्धान्तका सह–प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार