सरकारी वकिल कार्यालयलाई सर्वोच्चको ध्यानाकर्षण : अभियोजन अतिरञ्जनापूर्ण बनाउँदा नकारात्मक भ्रम पैदा हुन्छ

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

त्रुटिपूर्ण रूपमा गणना गरी धेरै बिगो कायम गरी मुद्दा दायर गर्न नहुने भन्दै सर्वोच्च अदालतले सरकारी वकिल कार्यालयको ध्यानाकर्षण गराएको छ । बैंकिङ कसुरको एक मुद्दामा फैसला गर्दै सर्वोच्चको संयुक्त इजलासले यस्तो उल्लेख गरेको हो । 

हामा मर्चेन्टबाट जग्गाको उच्च मूल्यांकन गरी ऋण प्रवाह गरेर बैंकिङ कसुर गरेको सम्बन्धी एक मुद्दामा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले यस्तो फैसला गरेको हो । यो मुद्दामा ५८ लाख ५४ हजार रुपैयाँ बिगो कायम गरिएको थियो । सामान्यतया साँवा रकम, त्यसको चक्रवृद्धि ब्याज आदि गणना गरेर बिगो कायम गर्नु त्रुटिपूर्ण हुने फैसलामा छ । ‘बैंकिङ प्रणालीअनुसार छिटो–छिटो वृद्धि हुने ब्याज रकमलाई बिगोका रूपमा उल्लेख गरेर धेरै मूल्य देखाई अनुसन्धान र अभियोजन कार्यलाई अतिरञ्जनापूर्ण बनाउँदा यसले न्याय प्रणालीप्रति नै नकारात्मक भ्रम पैदा गर्ने सम्भावना रहन्छ, यस प्रकारको कार्यबाट कुनै सिर्जनात्मक योगदान प्राप्त हुँदैन । यस पक्षमा समेत अभियोजन पक्षको ध्यानाकर्षण हुन वाञ्छनीय देखिएको छ,’ फैसलमा भनिएको छ । 

सरकारी वकिल कार्यालयले अभियोगपत्रमा प्रवाह गरिएको ऋण रकमको साँवा–ब्याज सबै गणना गरेर बिगो कायम गरेको थियो । कानुनले प्रस्ट र किटानी रूपमा ब्याजसमेत जोडेर बिगो कायम गर्नुपर्दछ भनी अन्यथा व्यवस्था गरेको अवस्थामा बाहेक फौजदारी कसुरजन्य कार्यका सन्दर्भमा साँवा रकमलाई आधार मानेर बिगो कायम गर्नुपर्ने फैसलमा छ ।

ललितपुरको दुई स्थानको जग्गा धितो राखी एक वर्षका लागि किशोरकुमार कोइरालाले ३० लाख रुपैयाँ कर्जा लिएका थिए । पछि एक निजी कम्पनीबाट उक्त जग्गाको मूल्यांकन गराउँदा त्यो जग्गाको मार्केट भ्यालु १८ हजार र डिस्ट्रेस भ्यालु १० हजार रुपैयाँ रहेको भेटिएको थियो । त्यसपछि मुद्दा दायर भएको हो । 

‘पछिल्लो मूल्यांकन सम्बन्धमा स्वयंमा अपत्यारिलो र अन्य कुनै अभीष्ट राखेर तयार गरिएको प्रतीत हुन्छ,’ फैसलामा भनिएको छ । राजधानीनजिकैको, यातायातको सुविधा पुगेको र लगभग दुई रोपनी जग्गाको मूल्य दोस्रोपटकको मूल्यांकनमा यति न्यून देखिनु आफैँमा आश्चर्यजनक रहेको न्यायाधीशद्वयको ठहर छ । ऋण असुली न्यायाधिकरणमा दुई पक्षबीच मिलापत्र भएको कुरा सरकारी पक्षले ढाकछोप गर्न चाहेको निष्कर्ष उक्त इजलासको छ । 

उच्च अदालत पाटनले सबै प्रतिवादीलाई सफाइ दिएकोमा उक्त फैसला बदर मागसहित सरकारी वकिल सर्वोच्च पुगेका थिए । उक्त दाबी ‘हचुवा र वस्तुगत तथ्यमा आधारित नरहेको तथा आश्चर्यजक’ नरहेको सर्वोच्चको भनाइ छ । फैसलामा भनिएको छ, ‘मुद्दामा सन्निहित र प्रमाणित तथ्य प्रतिकूलका यस प्रकारको हचुवा जिकिर लिने कुरामा अभियोजन वा सरकारी प्रतिरक्षा गर्ने पक्ष (सरकारी वकिल कार्यालय)को विशेष ध्यानाकर्षण हुन पनि वाञ्छनीय देखिएको छ ।’ यो फैसला गत वर्ष ३१ जेठमै भए पनि केही समयअघि मात्र पूर्णपाठ सार्वजनिक भएको हो । 

सुझावित समाचार