मोरङको सुन्दरहरैँचामा एकजना कुखुरा व्यवसायीको बीभत्स हत्यामा संलग्न कामदारदम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका– ९ का कुखुरा व्यवसायी ४९ वर्षीय सहदेव बजगाईंको बीभत्स हत्या गरी फरार भएका कामदारहरू मोरङ उर्लाबारी नगरपालिकाका– ४ हाटखोलका ३६ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती प्रतिशा पाँचकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार राति कुखुरा फारममा वास बसेका व्यवसायी बजगाईंलाई धारिलो हतियार खुकुरी र बन्चरो प्रहार गरी बीभत्स रूपले हत्या गरेर कामदारदम्पती फरार भएका थिए । हत्यामा प्रयोग भएको खुकुरी र बन्चरो रगत लतपतिएको अवस्थामा फेला परेको र कामदारदम्पती फरार रहेकोले प्रहरीले हत्यामा उनीहरूकै संलग्नता हुन सक्ने आशंका बलियो भएपछि खोजी तीव्र बनाएको थियो । हत्या गरेर फरार भएका कामदारलाई प्रहरीले सुनसरीको धरान नगरपालिका– १२ मा रहेको बलभद्रेश्वर मन्दिरको अरुणोदय धर्मशालाबाट एकै दिनमा पक्राउ गर्न सफल भएको हो ।
हत्यामा संलग्न कामदारदम्पतीले व्यवसायी बजगाईंको बीभत्स रूपमा हत्या गरेको स्वीकार गरेका छन् । तर, किन गरे भन्नेबारे खुलिनसेकोले उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले बताए । हत्यामा संलग्न दम्पती गत जेठदेखि बजगाईंको कुखुरा फराममा काम गर्दै आएका थिए ।