विश्वप्रख्यात अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइसकेका छन् । घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँका रूपमा प्रख्यात छ । पहिले रोधी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, बाबा समूह, युवा क्लब भएर पर्यटन प्रवर्द्धनसँगै गाउँको विकासमा जुटेका छन् ।
लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौँदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, वेशभूषा, संस्कार र संस्कृति छन् ।क्व्होंलासोथर गाउँपालिका– ३ स्थित दक्षिण एसियाकै नमुना मानिएको सुखी गाउँ घलेगाउँ, भुजुङ गाउँलगायत लमजुङमै पर्छन् । क्व्होंलासोथर गुरुङ जातिको उद्गमस्थलसमेत हो ।
समूहमार्फत सुरु भएको एकता अभियान पछिल्लो समयमा पर्यटन प्रवर्द्धनमा पनि जोडिएको छ । यसका लागि स्थानीयहरू समिति नै स्थापना गर्दै अघि बढिरहेका छन् । ०५७ मा घलेगाउँमा पहिलोपटक महोत्सवको सुरुवात गर्दै होमस्टे कार्यक्रम सुरु गरिएको थियो । अहिले भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राईनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, भुस्मे, घेर्मुलगायतका गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ ।
ती गाउँका स्थानीय पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक तान्न जुर्मुराएका छन् । पर्यटन क्षेत्रबाट राम्रो आम्दानी हुँदा घलेगाउँको स्वरूपसमेत बदलिएको छ । यहाँबाट प्राकृतिक दृश्यावलोकन पनि निकै राम्रो देखिन्छ । विशेषगरी डा. हर्क पिक, लमजुङ, अन्नपूर्ण र मनास्लु हिमाललाई छर्लंग नियाल्न सकिन्छ । यी गाउँबाट मर्स्याङ्दी , खुदी, मिदिमलगायत नदीनाला देखिन्छ ।
पर्यटकलाई स्थानीयले टीका, खादा र फूलको मालाले स्वागत गर्ने गरेका छन् । आफ्ना कला–संस्कृति जोगाइराख्न जुटेका स्थानीयले कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत गर्छन् । त्यस्तै, स्थानीय परम्परा र भाषालाई पनि यहाँ संरक्षण गरिएको छ । पर्यटकहरूले यहाँ कोदो, गुन्द्रुक, ढिँडोलगायत स्थानीय अर्गानिक परिकारको स्वाद लिन पाउँछन् ।