गाउँपालिका अध्यक्षको सनाखतमा मिराले पाइन् २२ वर्षपछि अंगीकृत नागरिकता

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण
गाउँपालिका अध्यक्षको सनाखतमा मिराले पाइन् २२ वर्षपछि अंगीकृत नागरिकता

सप्तरीको छिन्नमस्ताका रामलखन मण्डलसँग बिहे गरेर आएकी भारतीय नागरिक मिरादेवी मण्डललाई बुधबार अंगीकृत नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगराती ।

दुई दशकअघि बिहे गरेकी छिन्नमस्ता गाउँपालिका– ३ की मिरादेवी मण्डलले अंगीकृत नागरिकता प्राप्त गरेकी छिन् । छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले सनाखत गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीले उनलाई नागरिकता दिएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले उनलाई नागरिकता प्रमाणपत्र प्रदान गरे । मिराको माइती भारत बिहार राज्यको मधुवनी जिल्लाको ग्राम पञ्चायत महथौर खुर्द प्रखण्ड फुलपरास हो ।

बिहेको चार वर्षपछि श्रीमान् रामलखन मण्डल हराएपछि उनले नागरिकता पाउन सकेकी थिइनन् । यसबीचमा उनी पटक–पटक सरकारी अड्डा नधाएकी होइनन् । अदालतले समेत उनलाई नागरिकता दिन परमादेश दिएको थियो । तैपनि नागरिकता प्राप्त गर्न नसकेको पालिका अध्यक्ष चौधरीले बताए । 

‘बिहे भएको चार वर्षमै श्रीमान् सम्पर्कविहीन भएपछि मिरादेवी नेपाली नागरिकता पाउनबाट वञ्चित हुनुभयो । नागरिकताका लागि यसबीचमा पटक–पटक जिल्ला प्रशासन कार्यालय सप्तरी धाउनुभएकी उहाँले थाकेर आस मार्नुभएको थियो,’ अध्यक्ष चौधरीले भने, ‘अदालतको परमादेशले पनि काम गरेन । म उहाँलाई चिन्दछु । यो सबै घटना थाहा भएपछि म आफैँले सनाखत गरेँ र २२ वर्षपछि उहाँले नागरिकता पाउनुभयो ।’ मिराको १८ वर्षीय छोरा र १६ वर्षीया छोरी छन् । आमाले नागरिकता पाएपछि अब छोराछोरीको पनि नागरिकता लिने बाटो खुलेको अध्यक्ष चौधरीले बताए । 

वर्षौँको दौडधुपपछि नागरिकता पाएकी मिरा प्रसन्न देखिएकी छन् । आफू नेपाली नागरिक भएपछि छोराछोरीको भविष्य पनि सुरक्षित भएको उनले बताइन् । ‘धेरै खुसी छु । मलाई नागरिकता दिन पहल गर्नुहुने पालिका अध्यक्षज्यूलाई आभार प्रकट गर्न चाहन्छु,’ मिराले भनिन्, ‘हरेस खाइसकेकी थिएँ, नागरिकता पाउँछु भने आस थिएन । आफूभन्दा पनि छोराछोरीको भविष्य नागरिकताविना अन्योल देखिरहेको थिएँ ।’

सुझावित समाचार