नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आइपिओ) निष्कासन प्रक्रिया तत्काललाई रोक्का गर्ने निर्णय गरेको छ । मंगलबार संसद्को सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेपछि बोर्डले बुधबार उक्त निष्कासन प्रक्रिया रोक्का गर्न रिलायन्सलाई पत्रचार गर्ने निर्णय गरेको हो ।
बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले कम्पनीलाई आइपिओ निष्कासन प्रक्रिया रोक्का गर्न पत्राचार गरेको पुष्टि गरे । लेखा समितिले बुक बिल्डिङको मूल्य तय, रिलायन्सको वित्तीय विवरण, संस्थागत लगानीकर्ताले खरिद गरेको सेयर, लगानीको सुरक्षालगायत विषयमा सात दिनभित्र स्पष्टीकरण पठाउन भनेको थियो ।
समितिलाई सात दिनभित्र जवाफ दिने निर्णय पनि भएको बोर्ड प्रवक्ता डा. अधिकारीले जानकारी दिए । कम्पनीले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागेको थियो ।