लामिन यमाल युरोपियन च्याम्पियनसिप (युरो) इतिहासकै कम उमेरका गोलकर्ता बनेपछि स्पेनले फ्रान्सलाई २–१ ले हराउँदै फाइनल स्थान पक्का गरेको छ । १२ वर्षपछि अन्तिम दुईमा स्थान सुरक्षित गरेको स्पेनले अब इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेताविरुद्ध आगामी आइतबार उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्नेछ । जर्मनीको म्युनिख रंगशालामा यमालले खेलको २१औँ मिनेटमा स्पेनलाई १–१ को बराबरीमा पुर्याएका थिए । उनले १६ वर्ष २६२ दिनमा युरो च्याम्पियनसिपमा गोल गरेका हुन् ।
मेजर फुटबल प्रतियोगितामा कम उमेरमा गोल गर्ने कीर्तिमान सन् १९५८ को विश्वकपमा पेलेले वेल्सविरुद्ध राखेका थिए । पेलेले विश्वकपमा गोल गर्दा उनको उमेर १७ वर्ष २३९ दिन थियो । फ्रान्सविरुद्ध स्पेनका जेजस नाभासले पनि कीर्तिमान बनाएका छन् । उनी स्पेनबाट पाका उमेरबाट सेमिफाइनल खेल्ने खेलाडी बनेका छन् । फ्रान्सविरुद्ध मैदानमा उत्रँदा उनको उमेर ३८ वर्ष २८१ दिन रह्यो ।
खेलको आठौँ मिनेटमा रान्डाल कोलो मुआनीले फ्रान्सलाई १–० को अग्रता दिलाए । कप्तान केलियन एम्बाप्पेको चलाखीपूर्ण क्रस पासमा कोलोले हेडिङ गोल गरेका हुन् । यमालको उत्कृष्ट गोलमा स्पेन खेलमा फर्कियो । उनले डिबक्सबाहिरबाट फ्रान्सका तीन खेलाडीलाई छकाउँदै दोस्रो बारको कुना च्यापेर बल प्रहार गरेका थिए । फ्रान्सका गोलरक्षकले यमालको उत्कृष्ट प्रहार छेक्ने कुनै अवसर प्राप्त गर्न सकेनन् ।
खेलको २५औँ मिनेटमा डानी ओल्मोको गोलमा स्पेन २–१ ले अगाडि बढ्यो । डिबक्सभित्रबाट डानीले प्रहार गरेको बल फ्रान्सका डिफेन्डर जुलेस कोन्डेको खुट्टामा ‘डिफ्लेक्ट’ भएको थियो । सुरुमा यो आत्मघाती गोल भनियो । तर, अफिसियलहरूले यसलाई डानीकै गोलका रूपमा राखे । पहिलो हाफमा फ्रान्सले बराबरी गोल फर्काउने अवसर नपाएको होइन । फेरि एकपटक फिनिसिङमा चुक्दा फ्रान्सले बराबरी अवसर गुमाएको थियो । एम्बाप्पेको सटिक प्रहार क्रसबार हुँदै बाहिरिएको थियो ।
सेमिफाइनलमा एम्बाप्पेले विनामास्क प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा अस्ट्रियाविरुद्धको खेलमा नाकमा चोट लागेपछि उनले त्यसपछिका खेलमा मास्क लगाएका थिए । मध्यान्तरअघि स्पेनले आक्रामण शैलीमा फ्रान्सको पोस्टमा चार्ज गरिरहेको थियो ।
युरोमा चम्किरहेका यमाल
चालू युरोमा स्पेनले प्रत्येक खेलमा सुधार मात्र गरेको छैन । आक्रामक शैलीमा प्रतिस्पर्धा गरिरहेको छ । विश्लेषकहरूले स्पेनलाई सहभागीमध्ये उत्कृष्ट राष्ट्र भनेका छन् । स्पेनले ६ खेलमा १३ गोल गरेको छ । स्पेनको सफलतामा यमालको योगदान छ । दुई दिनपछि १७ वर्ष टेक्ने यमालले बार्सिलोनामा ५० खेलभन्दा धेरै खेलेका छैनन् । बार्सिलोनाको फुटबल इतिहासमा सबैभन्दा कम उमेरमा स्पेनिस ला लिगा डेब्यु गर्ने उनी हुन् । सुरुवाती ठूला खेलमा नर्भस देखिएका उनी अहिले परिपक्व बनेका छन् । डिबक्सभित्र प्राप्त अवसरमा उनले फ्रेममै बल प्रहार गर्ने गरेका छन् । वर्तमान युवा खेलाडीमध्ये उनी धेरै अगाडि छन् ।
आत्मविश्वास गुमाएको फ्रान्स
दुई वर्षअघि कतार विश्वकप फुटबल प्रतियोगितामा फ्रान्सले उत्कृष्ट प्रदर्शन गरेको थियो । अर्जेन्टिनाविरुद्धको फाइनलमा फ्रान्सले उत्कृष्ट पुनरागमन गरेको थियो । त्यसमा एम्बाप्पेले फाइनलमा ह्याट्रिक नै गरे । दुई वर्षअघिको फ्रान्सको खेल अहिले युरो २०२४ मा देखिएको छैन । केही न कही कमजोर छ । यद्यपि, विश्वकप खेलेका सबैजसो खेलाडीको बाहुल्य रहे पनि २००० को विजेता फ्रान्सले जर्मनीमा एकरूपता प्रदर्शन गर्न सकेन । अहिले उनीहरूमा आत्मविश्वास कमी देखिएको छ । एम्बाप्पेले चालू युरोमा केवल एक गोल मात्र गरे । उनले आफूलाई युरो च्याम्पियनसिपमा न्याय दिन सकेनन् ।