रास्वपाले आफूमाथि गरेको कारबाही वैधानिक नभएको ढकालको दाबी

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकालले पार्टीका सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निस्कासित भएको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभापति लामिछाने, उपसभापति डिपी अर्याल र सहकोषाध्यक्ष दीपक बोहराको आलोचना गरे । आफूविरुद्ध सभापतिले सहप्रवक्ता रमेश प्रसाईं र केन्द्रीय सदस्य ज्वाला संग्रौलालगायत समूहलाई परिचालन गरेको आरोप पनि लगाए । 

आफूमाथि गरिएको कारबाहीको वैधानिकतामाथि प्रश्न उठाउँदै उनले आफू रवि लामिछानेको क्लबबाट निकालिएको, तर राष्ट्रिय स्वतन्त्र पार्टीमै रहेको जिकिर गरे । ‘रास्वपाको महामन्त्रीबाट मलाई हटाइएको छैन । रवि क्लबबाट हटाइएको हो,’ उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि क्लबले हाइज्याक गरेको उनको आरोप थियो । यसमा अनुशासन आयोगलाई प्रयोग गरिएको उनले दाबी गरे । आफूलाई स्पष्टीकरणको मौका नदिई केन्द्रीय समितिले गरेको निर्णय प्रचलित कानुनअनुसार अवैधानिक भएको उनको तर्क थियो । पार्टीको राजनीतिक जीवनबारे सत्य बोल्दा आफूमाथि कारबाही गरिएको भन्दै ढकालले कारबाहीबारे जनतासँग प्रत्यक्ष संवाद गर्ने योजना पनि सुनाए । ‘यो निर्णयबारे म जनतामा जान्छु । जनतासँग छलफल गर्छु । यसको स्वरूप केही समयमा सार्वजनिक गर्छु,’ उनले भने ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कार्यक्षमतामा प्रश्न उठाएपछि विवाद बढेको र आफू किनारामा पारिएको उनले उल्लेख गरे । सभापतिको नागरिकता र पासपोर्ट प्रकरण सतहमा आउँदा प्रक्रियागत त्रुटि हो भनेर आफूले नबोलेको भन्दै ढकालले सरकारको पफर्मेन्सबारे प्रश्न उठाउँदा द्वन्द्व बढेको खुलाए । ‘सरकारले काम गर्न सकेन, यो अक्षमता किन हो, जनताका अगाडि आत्मालोचना गरेर अगाडि बढौँ, हामीले चाहँदाचाहँदै पनि भएन, कर्मचारीतन्त्रले दिएन देखि धेरै कुरा छ, सबै कुरा खुलमखुला भनौँ, लाइभ गरौँ, अब पारदर्शी बनौँ भन्दा उहाँले गृह मन्त्रालयले जति काम त कसैले गरेको छैन, यो देशको सबैभन्दा सफल गृहमन्त्रीका रूपमा आफू उपस्थित भएको छु भन्ने दाबी गर्नुभयो, त्यो दाबी मलाई चित्त बुझेन,’ उनले भने । सरकारमा कार्यक्षमता प्रदर्शनमा प्रश्न उठाउँदा पार्टीमा द्वन्द्व बढेको भन्दै ढकालले सभापतिलाई पहिलोपटक प्रश्न गर्दा कारबाही भोग्नुपरेको र यसको संकेत आफूले प्रतिवेदनमै गरेको उल्लेख गरे । 

सदनदेखि सरकारसम्म पार्टी सुधारको आवश्यकता औँल्याउँदा सभापति लामिछानेले मुकुल ढकाल रवि लामिछानेको विरुद्धमा गयो भन्ने भाष्य बनाउन आफूनिकटका सहप्रवक्ता रमेश प्रसाईं, केन्द्रीय सदस्य ज्वाला संग्रौलालगायतलाई परिचालन गरेको उनले आरोप लगाए । 

ढकालले आफ्नो बोल्ने अधिकार हनन भएपछि मुखमा टेप टाँस्दा १९ असारको केन्द्रीय समितिमा आफूलाई दुव्र्यवहार गरिएको दोहो¥याउँदै यो कदमलाई अपरिपक्व भनिएकोमा आपत्ति जनाए । उनले रास्वपाभित्रै अपरिपक्वता रहेको जिकिर गरे । सरकारबाट राजीनामा दिन बालुवाटार पुगेका सभापति लामिछाने राजीनामा नदिई फर्किनु पार्टी नेतृत्वको बालापन भएको उनको भनाइ थियो । सभापति लामिछानेलाई पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मन पर्न थालेको टिप्पणी गर्दै ढकालले भने, ‘प्रचण्ड, ओली र देउवाको शैली मन पर्ने मान्छेलाई मुकुल ढकालको शैली बालापन लाग्न सक्छ । बालापन लागोस् मलाई मतलब छैन ।’ ढकालले सभापति लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान हुनुपर्छ भनेर सर्वाेच्च अदालतले नै बोलेको भन्दै पार्टीभित्र उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने जिकिर गरे । 

सुझावित समाचार