पोखराका व्यवसायीका सात सुझाव लिएर फर्कियो विमानस्थल अध्ययन उपसमिति

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको समितिले विमानस्थलको अवलोकन, अध्ययन तथा सरोकारवालासँग छलफल गरी काठमाडौं फर्किएको छ ।

लेखा समितिले १३ असारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा ११ सदस्यीय एक उपसमिति गठन गरेको थियो । पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको तथा विमानस्थल सञ्चालन हुन नसकेको विषयमा उजुरी परेपछि समितिले एक महिनाको म्याद तोकेर उपसमिति गठन गरेको हो ।

आइतबार पोखरा आएको टोली आफ्नो काम सकेर मंगलबार काठमाडौं फर्किएको छ । १७ पुस ०७९ मा उद्घाटन गरिएको विमानस्थलमा १८ महिना बित्दा पनि अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । 

छलफलमा टोलीका सदस्यले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विमानस्थलको रनवे लम्बाइ तीन हजार मिटर नबनाई दुई हजार पाँच सय मिटर मात्रै किन बनाएको, विमानस्थलको बिजनेस प्लान बनाइएको छ कि छैन, रनवेको उचाइ बढाउनुपर्नेमा किन घटाइएको, उचाइ घटाउँदाको माटो के गरियो ? लगायत विषयमा प्रश्न गरेका थिए ।

टोलीको प्रश्नपछि अधिकारीले न्यारोबडी विमानका लागि दुई हजार पाँच सय मिटरको रनवे आवश्यक पर्ने भएकाले सोहीअनुसार बनाइएको बताए । त्यस्तै, भौगोलिक अवस्थाका कारण पोखराभरि रनवे बनाए पनि वाइडबडी विमानले पोखराबाट उडान गर्न नसक्ने उनले बताए ।

विमानस्थलको बिजनेस प्लान नबनाएको बताउँदै अधिकारीले प्लान बनाएर नेपालमा कुनै पनि विमानस्थल नचल्ने जवाफ दिए । छलफलका क्रममा अनियमितताको विषयमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विषय उठान गरेपछि कार्यक्रमको बीचमै उनी निस्किएका थिए ।

उपसमितिका संयोजक राजेन्द्र लिङ्देन भन्छन्–विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभएको तथा निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि छानबिनका लागि उपसमिति गठन भएसँगै पोखरा आएका हाैँ । पोखराको काम सकिएसँगै काठमाडाैँमा विज्ञसँग छलफल गरी उपसमितिले प्रतिवेदन बनाई बुझाउनेछ । विमानस्थल निर्माणमा अनियमितता भएको छ–छैन, कसैले अनियमितता गरेको देखिए कडा कारबाहीका लागि सिफारिस गर्ने, अन्तर्राष्ट्रिय उडान गर्न के–के आवश्यक छ ? आवश्यक उपायका सुझाव उपसमितिले दिनेछ ।

यस्ता छन् सुझाव
- पोखरा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित प्रमुख गन्तव्य भएकाले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान राष्ट्रिय ध्वजावाहक जहाज नेपाल एयरलाइन्सवाट सुरुवात गर्नुपर्ने ।   
- पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न नेपालबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका कम्पनीलाई आवश्यक प्याकेजको व्यवस्था गरी प्रेरित गर्नुपर्ने ।       
- पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक नीति–नियम सहजीकरण गर्ने । 
- पोखराबाट छिमेकी देशहरू भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीलाई अनुमति प्रदान गर्ने ।   
- आन्तरिक हवाई सेवाप्रदायक कम्पनीलाई पोखराबाट देशभित्रका मुख्य सहरमा सीधा उडान गर्न अनिवार्य गर्नुपर्ने ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी १६ सय मिटर हुँदा पोखराको भिजिबिलिटी ३७ सय मिटर हुनु पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुनुको मुख्य कारण हो । यस विषयमा समितिले विशेष अध्ययन गर्नुपर्ने ।    
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका हवाई कम्पनीलाई कम्तीमा पनि हप्तामा दुईवटा फ्लाइट पोखराबाट अनिवार्य उडानको व्यवस्था गर्नुपर्ने ।

सुझावित समाचार