कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । यलम्बर रंगशालामा मंगलबार भएको फाइनलमा भोजपुरलाई १–० ले हराउँदै झापाले उपाधि जितेको हो । उपाधि विजेता झापाले दुई लाख र उपविजेता भोजपुरले एक लाख रुपैयाँ पाएको आयोजकले जनाएको छ ।
खेलको १५औँ मिनेटमा झापाका जेनिफर रानामगरले एक मात्र निर्णायक गोल गरेकी थिइन् । उनकै गोलमा झापाले उपाधि हात पारेको हो । कोशी प्रदेशका १४ जिल्लाका खेलाडी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता जेनिफर भएकी छिन् । उनले प्रतियोगितामा नौ गोल गरेकी थिइन् । जेनिफरले सेमिफाइनलमा ताप्लेजुङविरुद्ध ६ गोल गरेकी थिइन् । उनले दुई विधामा गरी जनही पाँच हजार रुपैयाँ पाएकी छिन् । प्रतियोगिताको अन्य विधागत पुरस्कारमा उत्कृष्ट गोलरक्षकमा झापाकी जसोदा राई, डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, मिडफिल्डर झापाकी सिम्रन राई भएका छन् ।
यसैगरी, उत्कृष्ट स्ट्राइकरको उपाधि भोजपुरकी आरती भुजेल र उदयमान खेलाडी खोटाङकी रिया राईले जितिन् । विधागत विजेतालाई जनही तीन हजार रूपैयाँ प्रदान गरिएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले बताए ।
जिल्लामा पहिलोपटक आयोजना भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालनमा वर्षा र कुहिरोले केही असर गरेको थियो । प्रदेश खेलकुद विकास बोर्डले बजेट सक्नका लागि बेमौसममा प्रतियोगिता आयोजना गरेको भन्दै आलोचनासमेत भएको छ ।