सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सबै प्रदेश कार्यालयस्थित भवनमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ। कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकसाथ बैंकले लर्निङ सेन्टरहरु सञ्चालनमा ल्याएको हो।
कर्मचारीहरूलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरू सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरू सञ्चालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरेको जनाएको छ। यो लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकैपटक ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्।
मंगलबार बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रूपमा लर्निङ सेन्टरहरूको उद्घाटन गरे। समारोहलाई सम्बाेधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ सेन्टरमा कार्यक्रमहरू सञ्चालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरूले कर्मचारीहरूको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवं सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लस्टर प्रमुखलगायत शाखा प्रमुखहरू गरी २६५ जना कर्मचारीको उपस्थिति रहेको थियो। लर्निङ सेन्टरहरूको उद्घाटनकै दिनमा आज देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३, मधेशमा २०, बागमतीमा ४०, गण्डकीमा नाै, लुम्बिनीमा २३, कर्णालीमा पाँच र सुदूरपश्चिममा १० जना गरी १३० कर्मचारीले प्रशिक्षण पनि लिएका छन्।