बाँकेको डुडुवा गाउँपालिका– ६ स्थित जयन्दु बाल सुधारगृहमा खाना खाने विषयमा बाल कैदीबन्दीबीच झडप भएको छ । झडपपछि फरार भएका ६३ जनामध्ये ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १९ जना अझै सम्पर्कबाहिर रहेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार कैदीबन्दीबीच झडपपछि सुधारगृह सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरी भागेका थिए । ‘बाल सुधारगृहमा तीन–चारजना उग्र छन् । खाना खाने वेला चौकीदारलाई आक्रमण गरे । ती भागेर जोगिए । त्यसपछि सुधारगृहमा रहेकाहरू ताला फोडेर हुल बाँधेर भागे,’ बालगृहको सुरक्षार्थ खटिएका एक प्रहरीले भने ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट प्रहरी परिचालन भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले फरार भएका बाल कैदीबन्दीको खोजतलास जारी राखेको बाँके प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए । सुधारगृहमा दुई सय ७३ जना बाल कैदीबन्दी रहेको वार्डेन विमला काउचा मगरले जानकारी दिइन् ।
एक वर्षअघि दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । सुधारगृहमा झडप, बबाल मच्चाउने एक सय ५० जनालाई नौबस्तास्थित क्षेत्रीय कारागारमा स्थानान्तरण गरिएको छ । त्यहाँ स्थानान्तरण भएका बाल कैदीबन्दीले केही महिनाअघि बबाल मच्चाउँदा तनाव भएको थियो ।