एमालेका ३२ वटै विभाग नयाँ बन्ने सरकारका कार्ययोजना बनाउँदै

आठ सय विज्ञ र संगठकहरू पार्टी केन्द्रीय कार्यालय र कार्यालयबाहिर नियमित बैठकमा

मंगलबार, २५ असार, २०८१
डिजिटल संस्करण

कांग्रेस–एमालेको गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएपछि एमालेका केन्द्रीय विभागहरू नयाँ सरकारका लागि कार्ययोजना बनाउन सक्रिय भएका छन् । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको निर्देशनपछि ३२ वटा केन्द्रीय विभाग तीन दिनयता नयाँ सरकारले गर्नुपर्ने कामका कार्ययोजना बनाउन सक्रिय भएका हुन् ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले ३२ वटा केन्द्रीय विभागले विषयविज्ञ र संगठकहरूबाट सुझाव लिएर सबै मन्त्रालयले तत्काल परिवर्तन महसुस हुने गरी गर्नुपर्ने कार्ययोजना बनाउने काममा सक्रिय रहेको बताए । उनका अनुसार सरकारको कार्ययोजना तयार पार्न अहिले आठ सय विज्ञ र संगठकहरूको पार्टी केन्द्रीय कार्यालय र कार्यालयबाहिरका विभिन्न स्थानमा नियमित बैठक बसिरहेका छन् ।

‘सरकार बनेलगत्तै प्राथमिकताका साथ तत्काल के–के काम गर्ने, ती कामहरू कहिलेसम्म, के–कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अध्यक्ष र महासचिवको निर्देशनपछि कार्ययोजना बनाउन नियमित बैठक बसेर सक्रिय छन्,’ अधिकारीले नयाँ पत्रिकासँग भने, ‘बिहानदेखि राति बेलुकीसम्मै दैनिक तीनपटकसम्म ३२ वटै विभागले बैठक बसेर कामको खाका कोरिरहेका छन् ।’एमालेले राज्यका मन्त्रालयहरूसँग मिल्दोजुल्दो केन्द्रीय विभागहरू बनाएर विपक्षमा हुँदा पनि समानान्तर ढाँचामै काममा खटाउँदै आएको थियो । 

केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले राज्यका मन्त्रालयसँग मिल्दोजुल्दो विभागले पछिल्लो निर्देशनअनुसार एक हप्ताभित्र मूर्त कार्ययोजना बुझाउने गरी काम गरिरहेको बताए । ‘राज्यका मन्त्रालयहरूले गर्नुपर्ने अल्पकालीन, दीर्घकालीन कामहरूका साथै नीतिगत संशोधनका विषयमा मूर्त कार्ययोजना दिने गरी अध्यक्ष र महासचिवको निर्देशनअनुसार काम गरिरहेका छन्,’ विष्टले भने ।

गत शुक्रबार बसेको केन्द्रीय विभागको संयुक्त बैठकमा अध्यक्ष ओली र महासचिव पोखरेलले कार्ययोजना बनाउन निर्देशन दिएका थिए । बैठकमा विभाग संयोजन गरिरहेका केन्द्रीय उपाध्यक्ष, विभागका प्रमुख र सचिवहरू सहभागी थिए । नयाँ सरकारमा समावेशी चरित्रको भन्दा पनि कार्ययोजनाअनुसारका काम गर्न सक्ने अनुभवी व्यक्तिलाई सामेल गर्ने गरी मन्त्रीहरूको छनोट गर्ने एमालेको तयारी छ । 

आज सचिवालय बैठक : नयाँ कार्यविभाजन, वार्षिक कार्ययोजनादेखि सरकार गठनसम्मका एजेन्डा
कांग्रेससँगको सहमतिमा राष्ट्रिय सरकार बनाउने गरी नयाँ समीकरण बनेपछि विकसित घटनाक्रमबारे छलफल गर्न एमालेले मंगलबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाइएको बैठकमा एमालेले केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन, आर्थिक वर्षको वार्षिक कार्ययोजनादेखि नयाँ सरकार गठनसम्मका एजेन्डामाथि छलफल गर्ने तयारी गरेको छ । 

‘मूर्तरूपमा एजेन्डा बनिसकेका छैनन्, अध्यक्षले नै बैठकमा प्रस्तुत गर्नुहुनेछ,’ केन्द्रीय कार्यालय सचिव अधिकारीले भने, ‘नयाँ कार्यविभाजन, कार्ययोजनादेखि नयाँ सरकार गठनसम्मका विषयमाथि केन्द्रित भएर बैठकमा छलफल गर्ने तयारी छ ।’ सचिवालय बैठक सकिएपछि स्थायी समिति र केन्द्रीय कमिटीको बैठक डाक्ने गरी एमालेले गृहकार्य गरिरहेको छ । 
३१ वैशाख ०८० मा बसेको केन्द्रीय कमिटी बैठकले एमाले केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन गरेको थियो । तीनमहिने मिसन ग्रासरुट अभियानको निष्कर्षका आधारमा सबै केन्द्रीय सदस्यलाई फरक भूगोलमा खटाउने सो बैठकका निर्णयअनुसार उनीहरू खटिएका थिए ।

उनीहरूको कामको समीक्षासहित एमालेले नयाँ कार्यविभाजनको गृहकार्य अगाडि बढाएको हो । प्रदेश, जिल्ला र पालिका तहसम्म अधिवेशन सम्पन्न गर्ने त्यही बैठकको निर्णयअनुसार एमालेले अधिकांश तल्ला कमिटीहरूको अधिवेशन सम्पन्न गरेको छ । 

डा. भीष्म अधिकारी
सचिव, केन्द्रीय कार्यालय 

सरकार बनेलगत्तै प्राथमिकताका साथ तत्काल के–के काम गर्ने, ती कामहरू कहिलेसम्म, के–कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अध्यक्ष र महासचिवको निर्देशनपछि कार्ययोजना बनाउन नियमित बैठक बसेर सक्रिय छन् । बिहानदेखि रातिसम्मै दैनिक तीनपटकसम्म ३२ वटै विभागले बैठक बसेर कामको खाका कोरिरहेका छन् ।

सुझावित समाचार