उद्धार र राहतका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई मुख्यमन्त्रीको निर्देशन

आइतबार, २४ असार, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वर्षायाममा हुने बाढीपहिरोजन्य विपतका वेला खटिनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज बसेको विपत् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्रीले सम्भावित  विपतका वेला उद्धार र राहतमा खटिनका लागि सतर्क अवस्थामा तीनवटै सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सोडारीको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका प्रमुख सचिव, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रदेशस्थित उच्च अधिकारी, प्रदेश मन्त्रालयका सचिवलगायत सहभागी थिए । बैठकले सम्बद्ध सबै निकायहरू तयारी अवस्थामा रहेर सम्भावित विपतकाे जोखिम न्यूनीकरणको प्रयासमा लाग्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

हिजोबाट भइरहेको अविरल वर्षाका कारण बाढीपहिरोका कारण सुदूरपश्चिमका विभिन्न ठाउँमा राजमार्ग तथा सडकहरु अवरुद्ध भएका छन्। जोखिमयुक्त ठाउँमा नेपाल प्रहरी परिचालित रहेको छ । लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको सतह बढेपछि कैलाली, कञ्चनपुरमा बाढी र डुबानको जोखिम बढेको छ । त्यस्तै पहाडी जिल्ला जोड्ने राजमार्गहरू तथा कतिपय ग्रामीण सडक पहिरोका कारण अवरुद्ध बनेका छन् । 
 

सुझावित समाचार