स्क्वासमा सहभागी नै नभएकी खेलाडी प्रथम

शुक्रबार, २२ असार, २०८१
डिजिटल संस्करण

दशौँ राष्ट्रिय खेलकुदमा पदक ल्याउने सक्ने खेलाडी भएकाले गोरखाकी कृष्णा थापालाई पहिलो बनाएको संघको भनाइ

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष स्क्वास प्रतियोगितामा सहभागी नभएकी महिला खेलाडीलाई प्रथम घोषणा गरेपछि विवाद भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा स्क्वास र्याकेट संघ गण्डकीको व्यवस्थापनमा गोरखाकी कृष्णा थापालाई आयोजकले प्रतियोगिता नै नखेली स्वतः प्रथम भएको घोषणा गरेको थियो । प्रतियोगितामा सहभागी भएका खेलाडीलाई दोस्रो र तेस्रो घोषणा गरिएपछि विवाद भएको हो । 

कास्कीका समीक्षा ठकुरी दोस्रो तथा सृष्टिका उदास र निस्ता श्रेष्ठ संयुक्त रूपमा तेस्रो भएका थिए । राउन्ड रोबिन आधारमा १७ र १८ असारमा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ कास्कीका आभान श्रेष्ठ पहिलोभएका थिए । पुरुषतर्फ प्रतिस्पर्धाबाट नै विजेता घोषणा गरिएको हो । प्रतियोगितामा आयोजकले सहभागी नभएकी खेलाडीलाई प्रथम घोषणा गरेपछि अन्य खेलाडीले विरोध गरेका थिए । तर, आयोजकले त्यसलाई बेवास्ता गरेको छ । आफूहरू अन्यायमा परेको भन्दै उनीहरूले उजुरी हालेका छन् । प्रतियोगिताको विजयी खेलाडीलाई पुरस्कृत गरेका प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले यस सम्बन्धमा केही जानकारी नभएको बताए । ‘संघले के गर्यो थाहा छैन,’ उनले भने, ‘पछि मात्रै यस विषयमा जानकारी भएको हो ।’ 

पुरस्कार वितरणमै विरोध
अन्यायमा परेका खेलाडीले पुरस्कार वितरण समारोहमा विरोध गर्दा कुनै पनि पदाधिकारीले वास्ता नै गरेनन् । प्रदेश स्क्वास र्याकेट संघ गण्डकीका अध्यक्ष अशोक रञ्जितले दशौँ राष्ट्रिय खेलकुदमा पदक सम्भावना देखिएकाले कृष्णालाई विजयी घोषणा गरेको दाबी गरे । ‘कृष्णासँग १०औँ राष्ट्रिय खेलकुदमा पदक ल्याउने सम्भावना देखिएकाले प्रतियोगितामा सहभागी नभए पनि प्रथम बनाइएको हो,’ अध्यक्ष रञ्जितले नयाँ पत्रिकासँग भने । यो प्रतियोगिताबाट दशौँ राष्ट्रिय खेलकुदका लागि प्रारम्भिक छनोट गरिनेछ । ‘केन्द्रसँग सम्पर्क गर्दा केही फरक नपर्ने भनेपछि कृष्णालाई प्रथम घोषणा गर्दै प्रारम्भिक छनोट गरिएको हो,’ अध्यक्ष रञ्जितले भने । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ आठ गरी कुल २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

See More On

सुझावित समाचार