परोपकार प्रसूतिगृहले आगामी ३० साउनमा \'स्वस्थ शिशु\' प्रतिस्पर्धा गराउने

बिहिबार, २१ असार, २०८१
डिजिटल संस्करण

परोपकार प्रसूतिगृहले पछिल्लो एक वर्षभित्र जन्मेका शिशुबीच आगामी ३० साउनमा स्वस्थ शिशु प्रतिस्पर्धा गराउने भएको छ । स्वस्थ शिशु शारीरिक र मानसिक रूपमा कस्तो हुनुपर्छ भन्ने बुझाउन शिशुहरूबीच प्रतिस्पर्धा गर्न लागिएको प्रसूतिगृहले जनाएको छ ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार शिशुहरूको पोषण, शारीरिक तथा मानसिक विकास क्रमलगायत स्वस्थ मानिने इन्डिकेटरको जाँच गरेर प्रतिस्पर्धामा सहभागी गराइनेछ । प्रतिस्पर्धामा सहभागी सम्पूर्ण शिशुको स्वास्थ्य जाँच निःशुल्क गरिने भएको छ ।

अस्पतालले पछिल्लो एक वर्षभित्रमा प्रसूतिगृहमा जन्मेका शिशुलाई तीन समूहमा विभाजन गर्नेछ । जसमा जन्मेदेखि ४५ दिन, ४६ दिनदेखि ६ महिनासम्म र ६ महिना एक दिनदेखि एक वर्षसम्मका शिशुबीच प्रतिस्पर्धा गराइने निर्देशक अधिकारीले बताए । ‘स्वस्थ हुनका लागि शिशुहरू कस्तो हुनुपर्छ भन्ने वा विकास क्रमबारे अभिभावकलाई बुझाउने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौँ । खासगरी अभिभावकले बच्चाहरूलाई कसरी हुर्काइरहेका छन्, स्वस्थ हुनलाई शारीरिक र मानसिक रूपमा कसरी विकास हुन्छ, आमाको स्वास्थ्य वा सरसफाइले शिशु विकासमा के फरक पर्छ भन्ने विविध विषयको ज्ञान दिन यस्ता कार्यक्रम गरिराखेका छौँ,’ उनले भने ।

सहभागी शिशुको विकास क्रम र सम्पूर्ण स्वास्थ्य अवस्था चिकित्सकहरूले परीक्षण गर्नेछन् । जसमा उमेरअनुसार बच्चाको तौल, अंगहरूको विकास, शारीरिक बनावट, बोलीको विकास, पोषणको अवस्थालगायत परीक्षण गरिने भएको छ । यसका साथै स्तनपानको अवस्था, अभिभावकले हुर्काइको अवस्था वा सरसफाइका विषयमा समेत अध्ययन गरिनेछ । ‘बच्चाले स्वस्थ आहार खान पाए–नपाएको, नियमित स्तनपान, परिवार नियोजनका साधनको प्रयोग, ६ महिनापछि पोषिलो खाना, सरसफाइमा ध्यान दिए–नदिएको विषयमा समेत विशेष ध्यान दिने तयारी गरेका छौँ । बच्चाको स्वस्थ विकासका लागि अभिभावकको भूमिकालाई प्राथमिकतामा राखेका हौँ,’ अधिकारीले भने ।

प्रतिस्पर्धामा भाग लिन चाहने अभिभावकलाई अस्पतालले फारम वितरणसमेत थालेको छ । एक महिनाभित्र फारम भरेर प्रतिस्पर्धामा शिशुहरूलाई सहभागी गराउन सकिने अस्पतालले जनाएको छ । अस्पतालले स्वस्थ शिशु प्रतिस्पर्धा हरेक वार्षिकोत्वसका अवसरमा गर्दै आएको छ । अस्पतालमा प्रत्येक वर्ष करिब २४ हजारले प्रसूति गराउँदै आएका छन् ।

See More On

सुझावित समाचार