गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेस्टिनी बन्दी रिहा

मंगलबार, १९ असार, २०८१
डिजिटल संस्करण

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालका प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ । सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद अबु साल्मियासहित दर्जनौँ प्यालेस्टिनी कैदी सोमबार उपचारका लागि इजरायली सेनाले घेराबन्दी गरेको गाजा क्षेत्रमा फर्केका हुन् ।

उनको रिहाइको पुष्टि इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गविर र गाजाको एक चिकित्सा स्रोतले सामाजिक सञ्जालमा गरेका छन् । सात महिनाभन्दा बढी हिरासतबाट मुक्त भएपछि उनले सोमबार आफूलाई इजरायलले ‘यातना’ दिएको बताए । 

अल–सिफाका अस्पताल निर्देशक साल्मिया ५० भन्दा बढी प्यालेस्टिनीमध्ये रिहा भई उपचारका लागि गाजा फर्किएका हुन् । निर्देशक साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको बताउँदै यातनाले गर्दा आफ्नो औँला भाँचिएको जानकारी गराए ।

कैदीहरूलाई धेरै यातना दिइने बताउँदै ‘धेरै कैदीले खाना र औषधिबाट वञ्चित रहनुपरेको र उनीहरूको मृत्युसमेत हुने गरेको’ उनले पत्रकार सम्मेलनमा बताए । दुई महिनासम्म कुनै पनि कैदीलाई दिनको एक रोटीभन्दा बढी खान नदिएको बताउँदै साल्मियाले कैदीलाई शारीरिक र मनोवैज्ञानिक अपमान गरिएको उल्लेख गरे ।

इजरायली सेनाले अल–सिफामा छापा मारी साल्मियालगायत सयौँलाई नोभेम्बरमा हिरासतमा लिइएको थियो । अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि इजरायलले गाजामा जवाफी आक्रमण गर्दा उनले काम गरेको अस्पताल लगातार छापा मारेर भग्नावशेषमा परिणत भएको छ ।

साल्मिया र अन्य मुक्त कैदी खान युनिसको पूर्वमा इजरायलबाट गाजा फर्किएको देइर अल–बलाहको अल अक्सा अस्पतालको चिकित्सा स्रोतले बताएको छ ।पाँचजनालाई अल–अक्सा अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई खान युनुसको अस्पताल पठाइएको छ ।

इजरायलले हमासलाई गाजापट्टीका अस्पताललाई सैन्य अप्रेसन र पूर्वाधारका लागि आवरणको रूपमा प्रयोग गरेको आरोप लगाएको छ भने यस क्षेत्रलाई चलाउँदै आएको हमास समूह र अस्पताल प्रशासनले आरोपको खण्डन गर्दै आएका छन् ।

See More On

सुझावित समाचार