नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपको फाइनलसँगै सिनियर तीन खेलाडीले सन्न्यास लिएपछि भारतीय टोली कप्तानविहीन बनेको छ । नियमित कप्तान रोहित शर्मा, विराट कोहलीले विश्वकप ट्रफी चुमेलगत्तै तथा रवीन्द्र जडेजाले त्यसको एक दिनपछि सन्न्यास लिएका हुन् । सिनियर तीनजना खेलाडीको सन्न्यासपछि भारतीय टी–२० टोलीका कप्तान को बन्नेछन् ? भन्ने प्रश्न चलेको छ ।
भारतीय मिडियाहरूका अनुसार चार खेलाडीको नाम अहिले अगाडि छ । सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, जसप्रित बुमराह तथा रिषभ पन्त वर्तमान टोलीका अनुभवी खेलाडी हुन् । यी चारमध्ये एकले कप्तानी जिम्मेवारी पाउने सम्भावना रहेको भारतीय मिडियाले जनाएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसीआई)ले नयाँ कप्तानीले नै सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपसम्म जिम्मेवारी पाउनेछन् ।
हार्दिक पाण्ड्या
अहिले टोली नेतृत्व गर्ने दौडमा हार्दिक सबैभन्दा अगाडि छन् । उनीसँग अन्तर्राष्ट्रिय टी–२० खेलको धेरै अनुभव छ । वेस्ट इन्डिजमा भएको फाइनल खेल उनको एक सय टी–२० अन्तर्राष्ट्रिय खेल थियो । जुन रोहित, विराट र रवीन्द्रपछि सर्वाधिक टी–२० खेल खेल्ने भारतीय खेलाडीमा हार्दिक पर्छन् । उनले विभिन्न अवसरमा गरी १६ पटक भारतीय टी–२० टोलीको कप्तानीसमेत गरेका छन् । उनले आफ्नो कप्तानीमा १६ पटक भारतलाई जित दिलाएका छन् ।
जसप्रित बुमराह
भारतीय टोलीमा जसप्रित विशेष खेलाडीका रूपमा छन् । कठिन अवस्थामा टोलीलाई घातक बलिङ गरी जित दिलाउने क्षमता नै उनको हो । तीन दिनअघि सकिएको टी–२० विश्वकपको फाइनलमा उनले यस्तै प्रदर्शन गरेका थिए । ७० अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका उनले ८९ विकेट लिएका छन् । उनले करिअरमा दुईपटक भारतको कप्तानी गरे । जसमा उनले दुवैपटक भारतलाई जित दिलाए । आफ्नो कप्तानी गरेको खेलमा उनले चार विकेट लिए ।
रिषभ पन्त
१८ महिनाअघि गम्भीर कार दुर्घटनामा रिषभले उत्कृष्ट पुनरागमन गरे । दोस्रो जीवन पाएका रिषभले भारतीय टोलीमा फर्कदै म्याच विनरको भूमिका निर्वाह गरे । २६ वर्षीय युवा खेलाडीले आफ्नै मिहिनेतमा डेढ वर्षपछि टी–२० टोलीमा स्थान बनाएका हुन् । उनले ७४ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् । यसक्रममा उनले एक हजार पाँच सय ५८ रन जोडेका छन् । उनले पनि पाँच खेलमा भारतीय टी–२० टोलीको कप्तानी गरिसकेका छन् । उनको कप्तानीमा भारतले दुई जित हात पारेको थियो । टी–२० विश्वकपमा रिषभले पाकिस्तानविरुद्ध महत्वपूर्ण ४२ रन बनाएको थियो ।
सूर्यकुमार यादव
अहिले सूर्यकुमारले लिएको क्याचको चर्चा भइरहेको छ । विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाका क्लासेनको उत्कृष्ट क्याच लिएका सूर्यकुमार पनि कप्तानीको दौडमा छन् । उनले अहिलेसम्म ६८ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् । १६७.७४ को स्ट्राइकमा उनले दुई हजार तीन सय ४० रन बनाएका छन् । सूर्यकुमारले सातपटक भारतीय टोलीको नेतृत्व गर्ने अवसर पाए । भारतले उनको कप्तानीमा पाँच जित निकालेको थियो । आफ्नो कप्तानीमा उनले १६४ को स्ट्राइकमा तीन सय रन जोडेका थिए ।