त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियो–थोरासिक भास्कुलर एण्डन्ड ट्रान्सप्लान्ट सेन्टरमा पहिलोपटक मिनिमल्ली इनभासिभ प्रविधिबाट मुटुको भल्ब (माइट्रल भल्ब)परिवर्तन गरिएको छ। मनमोहन सेन्टरका सिटिभिएस विभागीय प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा सफल शल्यक्रिया सम्पन्न भएको हो।
एक ५३ वर्षीया महिलामा राइट एक्जिलरी मिनिथोराकोटोमी (काखीमा सानो प्वाल पारेर गरिने मुटुको शल्यक्रिया) प्रविधिमार्फत मुटुको माइट्रल भल्ब परिवर्तन गरिएको हो। शल्यक्रियापश्चात् बिरामीको अवस्था सामान्य रहेको र छिट्टै डिस्चार्ज गर्ने तयारीमा रहेको डा. भट्टराईले जानकारी दिए।
पछिल्लो एक दशकदेखि मनमोहन सेन्टरमा मिनिमल्ली इनभाजिभ कार्डियाक सर्जरी गर्दै आएकोमा काखीमुनि प्वाल पारेर माइट्रल भल्ब परिवर्तन गरिएको नेपालमै यो पहिलोपटक हो । विश्वस्तरीय सेवा आफ्नो अस्पतालबाट दिन सकेकोमा अस्पतालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले खुसी व्यक्त गरेका छन्। उक्त प्रविधिको फाइदा बिरामी छिटो निको हुने, कस्मेटिक रूपमा उत्तम, शल्यक्रियापश्चात् हुने जोखिम कम र अस्पताल बसाइ पनि छोटो हुने भएकोले बिरामीका लागि पनि लाभदायी मानिन्छ ।
डा. भट्टराईको नेतृत्वमा सम्पन्न भएको शल्यक्रियामा डा. प्रभात खकुराल, डा. रवि बराल र डा. समीर यादव संलग्न थिए । यस्तै, एनेस्थेसियामा डा. विश्वास प्रधान, डा. विभुस श्रेष्ठ र डा. अर्जुन गुरुङ संलग्न थिए भने प्रफ्युजनिस्टको रूपमा महेन्द्र भट्टको योगदान थियो ।