नेपाल आर्मीले पाँचौँ गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको फाइनलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्यो । आर्मीका प्रदीप राजवंशीले चार गोल गरे । प्रहरीका रोमन रानाले एक गोल फर्काए ।
उपाधिसँगै आर्मीले ५० हजार र प्रहरीले ३० हजार रुपैयाँ पाएका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले कर्णालीलाई ७–१ ले हराउँदै तेस्रो भएको छ । गण्डकीका लागि ‘प्लेयर अफ द म्याच’ असिम बाहेकले ह्याट्रिक गरे । तेस्रो भएको गण्डकीले १५ हजार रुपैयाँ पाएको छ ।
प्रतियोगितामा दीपेन्द्र ऐर उत्कृष्ट खेलाडी भएका छन् । उनले प्रतियोगितामा ११ गोल गरेका थिए । पुरन ओली उत्कृष्ट गोलरक्षक र रोशन चौधरी उत्कृष्ट डिफेन्डर घोषित भए । प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट चारै खेलाडी आर्मीका हुन् । कर्णालीका सुशान्त रोकाया उदीयमान खेलाडी चुनिए । पाँचैजनाले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।