इजरायल–हिजबुल्लाह युद्धले पूरै क्षेत्र खतरामा

इजरायल र हिजबुल्लाहबीचको युद्ध सम्बद्ध कुनै पनि पक्षले चाहेजस्तो देखिँदैन, तर बयानबाजी चर्किंदै जाँदा युद्धको सम्भावना बढेको छ

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

एन्टोनी ब्लिंकेनले मंगलबार वासिंटनमा इजरायल–हेजबुल्लाहबीच द्वन्द्वको सम्भावनाबारे टिप्पणी गर्ने क्रममा विरोधाभासको चर्चा गरे । इजरायली सरकार र हेजबुल्लाहका नेताबाट चर्को बयानबाजी र इजरायल–लेबनानको सीमा क्षेत्रमा दुई पक्षबीच छिटपुट झडपको उल्लेख गर्दै अमेरिकी विदेश मन्त्री ब्लिंकेनले भने, ‘ तनावबीच दुवै प्रतिद्वन्द्वीले वास्तविक युद्ध वा द्वन्द्व फैलियोस् भन्ने चाहेजस्तो मलाई लाग्दैन । इजरायलले युद्ध चाहेको म मान्दिनँ । त्यस्तै हिजबुल्लाहले पनि युद्ध चाहेको मलाई विश्वास छैन । हिजबुल्लाह रहेको देश लेबनानले त युद्ध चाहने कुरै भएन, किनकि युद्ध भड्किएमा सबैभन्दा बढी पीडित ऊ हुनेछ । न इरान नै अहिले हिजबुल्लाह–इजरायलबीच युद्ध चाहन्छ । सम्बद्ध पक्षले युद्ध नचाहँदा–नचाहँदै पनि परिस्थिति भने युद्धतर्फ अघि बढिरहेको छ ।’

केही दिनअघि इजरायली विदेशमन्त्री काट्जले सरकारले हिजबुल्लाहसँगको पूर्णस्तरको युद्धबारे छिटै निर्णय लिने घोषणा गरे । लगत्तै इजरायली जनरलहरूले पनि लेबनानतर्फको आक्रमणको योजनामा ​​हस्ताक्षर गर्न मात्र बाँकी रहेको सार्वजनिक गरे । उता, हिजबुल्लाहले उत्तरी इजरायलका मुख्य पूर्वाधारसहित कैयौँ रणनीतिक क्षेत्रको ड्रोन फुटेज सार्वजनिक गर्यो । यसका नेता सयद हसन नसरल्लाहले इजरायलले आफूहरूमाथि आक्रमण सुरु गरे ‘नियमविना’को युद्ध लडिने चेतावनी दिए ।

पछिल्लो आठ महिना दुई पक्षले चर्का बयानबाजी गरे पनि कारबाहीमा भने संयमता अपनाउँदै आएका थिए । अमेरिकी विदेशमन्त्री ब्लिंकेनले अहिले कुनै एक पक्षले स्थितिको गलत आकलन गरे युद्ध भड्किने जोखिम रहेको औँल्याए । बिस्तारै तर निरन्तर बढ्दै गएको मुठभेड युद्धमा बदलिन सक्ने खतरा पनि उस्तै छ । संलग्न सबै पक्षले यसलाई ठूलो द्वन्द्वको पूर्वतयारी मान्ने जोखिम हुन्छ । अक्टोबर ७ को हमास आक्रमणपछि उत्तरी इजरायलका अधिकांश बासिन्दालाई उत्तरी सीमाबाट हिजबुल्लाहकोे सम्भावित आक्रमणको डरमा बाँच्न बाध्य बनाएको छ । त्यसयता हिजबुल्लाहले अपेक्षाकृत कम क्षतिमा लामो समयसम्म इजरायललाई धम्की दिँदै आएको थियो । इजरायलको हकमा संयमताले आक्रमणको तयारीका लागि थप समय दिन सक्छ ।

गाजामा जारी युद्धको अन्त्यले उत्तरतर्फको मुठभेडलाई पूर्णस्तरको युद्ध बनाउने आकलन गरिँदै छ । हिजबुल्लाहविरुद्ध युद्ध सुरु भए इजरायलले महिनौँ गाजामा लडेका फौजबाट दुई मोर्चामा युद्ध लड्नुपर्नेछ ।

सम्भावित युद्धको डरमा लेबनान र इजरायलका सीमा क्षेत्रका हजारौँ मानिस घर छाडेर भागिसकेका छन् । महिनौँदेखि चलेको छिटपुट आक्रमणमा सयौँ हिजबुल्लाह लडाकु, एक दर्जनभन्दा बढी इजरायली सैनिक र दर्जनौँ आमसर्वसाधारण मारिएका छन् । इजरायलले उत्तरी छिमेकीमाथि जुनसुकै वेला आकस्मिक आक्रमण हुन सक्ने अमेरिकालाई जानकारी दिएको बताइन्छ । लेबनानभित्र पसेर आफ्नो उद्देश्य तत्काल हासिल गरी युद्ध छिटै अन्त्य गरेर फर्किन सक्ने इजरायली आत्मविश्वास उसको विगतको यथार्थसँग मेल खाँदैन । 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा सैन्य अभियान सुरु गर्दा पनि यस्तै घोषणा गरेका थिए । तर, हमासको शीघ्र उन्मूलन गरी बन्धकहरू फिर्ता गर्ने घोषित लक्ष्य आठ महिनापछि पनि हासिल भएको छैन । यति लामो समयसम्म इजरायली सेनाले न आफूभन्दा निकै कम अनुभवी सैन्य समूहलाई हराउन सकेको छ, न नै हताहती न्यून राख्ने वाचा पूरा गर्न सकेको छ । यस अवधिमा गाजामा इजरायली फौजले झन्डै ३७ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको कुराले तिनलाई गिज्याइरहेको छ । 

हिजबुल्लाहविरुद्ध युद्ध सुरु भए इजरायलले महिनौँ गाजामा लडेका फौजबाट दुई मोर्चामा युद्ध लड्नुपर्नेछ (जसमा अझ लाल सागरको हुथी आक्रमणको गणना गरिएको छैन ) । इजरायली प्रधानमन्त्री नेतन्याहु र देशको सेनाबीचको दरार बढ्दो रूपमा सार्वजनिक हुँदै गएको छ, यही साता इजरायली डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ता ड्यानियल हगारीले स्पष्ट रूपमा हमास एक विचार भएकाले यसलाई नष्ट गर्न नसकिने सार्वजनिक रूपमा बताए । यस विषयमा थप बोल्दै हगारीले भने, ‘राजनीतिक वृत्तले विकल्प खोज्नु आवश्यक छ, अन्यथा यो कायम रहनेछ ।’

गाजामा जारी युद्धको अन्त्यले उत्तरतर्फको मुठभेड पूर्णस्तरको युद्ध अवश्यंभावी बनाउने आकलन गरिँदै छ । तर, त्यसै होला भनेर ठोकुवा गर्न पनि सकिँदैन । प्रत्येक पक्षसँग युद्ध नहोस् भन्ने कारण छ । निश्चित रूपमा पछिल्लो समय हिजबुल्लाहको हैसियत बढेको छ, तर उसको समर्थक इरान उसको आणविक केन्द्रमाथि (इजरायली) आक्रमण हुँदा प्रयोग गर्न सकिने यस शक्तिलाई पूर्णस्तरको युद्धमा फसाएर कमजोर बनाउन चाहँदैन । लेबनानको राजनीति र अर्थतन्त्र पहिले नै घुँडा टेकेको अवस्थामा छ । 

हिजबुल्लाहसँगको पूर्णस्तरको द्वन्द्व इजरायलको लागि अस्तित्वको जोखिम सावित हुन सक्छ, जुन उसले हालसम्मको गाजा आक्रमणमा महसुस गरेको छैन । अमेरिकाले इजरायलको उत्तरी भागमा हुने आक्रमणलाई उसको क्षेप्यास्त्र प्रतिरक्षाले थेग्न नसक्ने चेतावनी दिएको छ, जुन चिन्ता इजरायलभित्र प्रतिध्वनित भइरहेको छ । उसो त इजरायली प्रधानमन्त्री नेतन्याहुले पछिल्लो समय बाइडेन सरकारको कुरा सुनेको देखिँदैन । उनले बाइडेनका कैयौँ चेतावनी बेवास्ता गरिरहेका छन् ।

अझ यो हप्ता नेतन्याहुले सीधै बाइडेन प्रशासनको आलोचना गरे । सामाजिक सञ्जाल एक्स(पहिलेको ट्विटर)मा अंग्रेजीमा बोलिएको भिडियो सन्देश राख्दै अमेरिकाले हतियार आपूर्तिमा ढिलाइ गरेकाले हमासलाई हराउन नसककिएको बताए । तर, अहिलेकै स्थिति कायम रहने सम्भावना न्यून छ । यस्तोमा युद्ध होइन, कूटनीतिक जवाफ हुनुपर्छ ।
– द गार्जियनबाट 

सुझावित समाचार