‘मन्त्रीले प्रधानमन्त्रीलाई टेर्दैनन्, देश सरकारले चलाउँदै छ कि अन्त कतैबाट चलेको छ ?’

सोमबार, १० असार, २०८१
डिजिटल संस्करण
‘मन्त्रीले प्रधानमन्त्रीलाई टेर्दैनन्, देश सरकारले चलाउँदै छ कि अन्त कतैबाट चलेको छ ?’

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्रीलाई मन्त्रीहरुले नटेर्नु निकै लज्जास्पद भएको बताएका छन् । मन्त्रीहरूले आफूलाई नटेरेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसद पौडेलले सोमबार प्रतिनिधिसभा बैठकमा यस्तो धारणा राखेका हुन्।

गृहमन्त्री र रक्षामन्त्रीको अभिव्यक्ति पदीय मर्यादाअनुरूप नभएको भन्दै उनले भने, ‘केही दिनअगाडि गृहमन्त्रीज्यूले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसदभित्र रहेको अभिव्यक्ति दिनुभयो । हिजो मात्रै रक्षामन्त्रीज्यूले प्रश्नहरूको उत्तर दिने सन्दर्भमा जे अभिव्यक्तिहरू राख्नुभयो त्यो उहाँको पदीय मर्यादाअनुरूप छ भन्ने मलाई लाग्दैन।’

मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट लगेको जिकिर गर्दै सांसद पौडेलले सरकारले संसद्लाई ज्यादै हेपेको आरोप लगाए। ‘बजेट आयो, सबैभन्दा बढी बजेट भएको भौतिक योजनामन्त्रीदेखि सबैभन्दा कम बजेट भएको ज्येष्ठ नागरिकमन्त्रीसम्म आफ्नो हात जगन्नाथ भनेजस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लानुभयो,’ उनले भने, ‘सरकारले संसद्लाई असाध्यै हेपेको छ।’

सरकार अराजक भएको र जवाफदेही नभएको आरोप लगाउँदै पौडेलले देश सरकारले कसले चलाइरहेको छ भन्दै प्रश्न गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यू भन्नुहुन्छ– मेरो निर्देशन कसैले मान्दैन । प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाजनक कुरा के हुन सक्छ ? सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो ? यो देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?’

सुझावित समाचार