गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङ भ्रमण गरेर उत्तर कोरियाली नेता किम जोङ उनसँग रक्षा सम्झौता गरे । युक्रेन द्वन्द्वका लागि हतियार आपूर्ति बढाउन नयाँ सहयोगीको खोजी गर्दै एउटामाथि अरूले आक्रमण गरेमा अर्कोले रक्षा गर्नेमा दुवै सहमत भएका छन् । किमले युक्रेनमा पुटिनको आक्रमणमा उत्तर कोरियाले पूर्ण समर्थन गर्ने वाचा गरेका छन् ।
रुस र उत्तर कोरियाबीचको स्पष्ट सौहाद्र्रता चाखलाग्दो छ, विशेषतः चीनको मौन प्रतिक्रियाको सन्दर्भमा । विभिन्न रिपोर्टले चिनियाँ राष्ट्रपति सी जिनपिङले यो सम्झौतालाई लिएर चिन्ता व्यक्त गरेको संकेत गर्छ । यसैकारण सीले पुटिनलाई प्योङयाङ भ्रमण रद्द गर्न अनुरोध गरेका थिए । यद्यपि, पुटिनले सीको अनुरोधका बाबजुद भ्रमण गरी छाडे ।
रुस–उत्तर कोरियाको रक्षा सन्धिबाट बेइजिङ किन त्रसित छ ? आखिर उत्तर कोरियासँग चीनको आफ्नै रक्षा सम्झौता छ, जसलाई सन् १९६१ मा हस्ताक्षर र सन् २०२१ मा नवीकरण गरिएको थियो । त्यसैगरी, बेइजिङको पनि रुससँग ‘सीमाविहीन’ साझेदारी छ । चीनले उत्तर कोरियासँग रक्षा सन्धि गर्न सक्छ भने रुसले पनि सक्छ । तर, पुटिन र किमबीचको सम्झौताले चिनियाँ सुरक्षामा गम्भीर चासो खडा गरेको छ ।
विशेषतः प्योङयाङले मस्कोलाई करिब सात हजार कन्टेनर हतियार उपलब्ध गराएको खबर बाहिरिएपछि चीन उत्तर कोरियामा आफ्नो कम हुँदै गएको प्रभावबारे चिन्तित भएको थियो । अप्रिलमा चीनले चिनियाँ कम्युनिस्ट पार्टीको पदानुक्रममा तेस्रो श्रेणीका नेता झाओ लेजीलाई उत्तर कोरियाली नेतालाई बेइजिङ एक स्थिर सहयोगी रहेको आश्वासन दिन पठाएको थियो ।
पश्चिमासँगको सम्बन्ध बिग्रने डर र पहिल्यै संघर्षरत अर्थतन्त्रबीच चीन रुसलाई हतियार उपलब्ध गराउनबाट तर्केको छ
मस्को र प्योङयाङबीचको सम्बन्धलाई सुदृढ पार्ने नयाँ रक्षा सम्झौताले किम जोङ–उनमाथि चीनको प्रभाव घटाउने जोखिम खडा गरेको छ । क्रेमलिनले बेइजिङको प्रमुख चिन्तामध्ये एक उत्तर कोरियाले स्वतन्त्र रूपमा काम गर्ने र आफ्नो हतियार आफूतर्फ सोझ्याउने सम्भावनाबारे चीन चिन्तित देखिन्छ । यही चिन्ता नै पुटिनलाई प्योङयाङसँगको शान्ति सन्धि गर्न उत्प्रेरित गर्ने महत्वपूर्ण कारक हो ।
चीन र उत्तर कोरियाको अशान्त विगत : धेरै वर्षदेखि चीनले उत्तर कोरिया र अन्तर्राष्ट्रिय समुदायबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै प्योङयाङमाथि आफ्नो प्रभाव कायम राख्न खोज्दै आएको छ । यो भूमिकामा उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई रोक्ने प्रयास पनि समावेश छ । चीनको मुख्य उद्देश्य आफ्नो सुरक्षा र स्थिरताको रक्षा गर्नु हो । जबसम्म उत्तर कोरिया चीनमा निर्भर रहन्छ उत्तर कोरियाले चिनियाँ स्वार्थविरुद्ध काम गर्दैन भन्ने विश्वास छ । यसबाहेक चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो ।
उत्तर कोरियासँग चीनको पारस्परिक रक्षा सम्झौतालाई ध्यानमा राख्दा घनिष्ठ गठबन्धनको संकेत हुन्छ, तर यो विरोधाभासपूर्ण देखिन्छ । यद्यपि, उत्तर कोरियाले चीनको इच्छालाई बेवास्ता गरेको इतिहास छ र रुससँगको नयाँ सम्झौताले यसलाई थप सशक्त बनाउन सक्छ जुन बेइजिङका लागि चिन्ताको विषय हो ।
उदाहरणका लागि सन् २०१७ मा किम जोङ उनले चीनको आपत्तिका बाबजुद मलेसियामा आफ्ना सौतेनी भाइ किम जोङ नामको हत्या गराएका थिए । जब चीनले उत्तर कोरियाबाट सबै कोइला आयात बन्द गरेर प्रतिक्रिया दियो प्योङयाङले अमेरिकाको इसारामा नाचेको भन्दै बेइजिङको आलोचना गर्दै जापानतर्फ क्षेप्यास्त्र प्रक्षेपण गरेर असन्तुष्टि व्यक्त ग¥यो । उत्तर कोरियाबाट जापानतर्फका यी क्षेप्यास्त्रको उत्पत्ति र दायराले पनि उत्तर कोरियाका हतियार चिनियाँ सहरसम्म पुग्न सक्ने वास्तविकतालाई चीनले रेखांकित गरेको छ ।
चीन र कोरियाबीचको ऐतिहासिक तनाव एक शताब्दीअघिको हो जब कोरिया साम्राज्यवादी चीनको एउटा कठपुतली राज्यको हैसियतबाट सुरु भएको हो । यो सम्बन्ध आधुनिक समयमा पनि कायम रह्यो । कोरियाली युद्धपछि उत्तर कोरियामा चिनियाँ सेना राख्ने माओ त्से तुङको निर्णय र प्योङयाङको आणविक आकांक्षालाई समर्थन गर्न बेइजिङको अनिच्छुकतालाई उदाहरणका रूपमा लिन सकिन्छ । मामिलालाई थप जटिल बनाउँदै उत्तर कोरियाका संस्थापक नेता किम इल सुङले जासुसीको शंकाको सामना गर्नुपरेको थियो र सन् १९३० को दशकमा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा हत्या प्रयासबाट जोगिनुपरेको थियो ।
रुसले उत्तर कोरियासँग जोडिएर युक्रेन–रुस युद्धलाई प्रभाव पार्न सक्छ भनेर सोच्नु गलत हुनेछ । पुटिनको भियतनाम भ्रमणसहित हालका कार्यले उनको निराशालाई झल्काउँछ । प्योङयाङको गोलाबारुद आपूर्तिले मद्दत गर्छ, तर मस्कोसँग युक्रेनको अमेरिका र युरोपेली हतियारलाई उछिन्न आवश्यक प्रविधि र ‘फायर पावर’को अभाव छ ।
पुटिनको एजेन्डा : पुटिनले रुसले सन् २०२२ मा सुरु गरेको युद्धमा सफल हुनका लागि आफ्नो ‘सीमाविहीन’ साझेदारको अटुट समर्थन आवश्यक पर्ने बुझेका छन् । यद्यपि, चीनले रुसको औद्योगिक र सैन्य आवश्यकताका लागि वास्तविक हतियारको सट्टा दोहोरो प्रयोगको प्रविधि प्रदान गरेको देखिन्छ र वास्तविक हतियारको निकै कम आपूर्ति गरेको छ ।
पश्चिमासँगको सम्बन्ध बिग्रने डरले र पहिले नै संघर्षरत अर्थतन्त्रबीच चीन रुसलाई हतियार उपलब्ध गराउनबाट तर्केको छ । पश्चिमा प्रभावविरुद्ध सन्तुलन कायम गर्न बलियो रुसको रणनीतिक महत्त्वलाई मान्यताका बाबजुद मस्कोको प्रत्यक्ष सहयोगलाई बेइजिङले स्वीकार गर्नु गाह्रो हुनेछ किनभने यसले चिनियाँ अर्थतन्त्रमाथि असर गर्ने जोखिम निम्त्याउँछ । पुटिनले बेइजिङलाई थप निर्णायक कदम चाल्न बाध्य पार्न उत्तर कोरियासँगको हालैको शान्ति सन्धिको लाभ उठाउने लक्ष्य राखेका छन् ।
(छि मेङ नोटिंघम विश्वविद्यालयको व्यापारिक अर्थशास्त्रका उपप्राध्यापक हुन् भने छि सेन्ट एन्ड्रयुज विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धकी एसोसिएट लेक्चरर हुन्) द कन्भर्सेसनबाट