मधेशमा साइकल खरिदको मुद्दामा विशेष अदालतले भन्यो– सचिव भुसालको लापरबाही मात्र होइन, बदनियत देखियो

सोमबार, १० असार, २०८१
डिजिटल संस्करण

विशेष अदालतले मधेश प्रदेश सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत खरिद गरिएका कम गुणस्तरका साइकलसमेत स्वीकार गर्नुमा सचिव र खरिद विज्ञको बदनियत देखिएको ठहर गरेको छ । यसअघि नै दोषी ठहर भएका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा खरिदविज्ञ सिडिई भगवान झाबारे विशेषले फैसलाको पूर्णपाठमा यससम्बन्धी व्याख्या गरेको छ । उनीहरूलाई तीन–तीन महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना सजाय फैसला भएको थियो ।

फैसलाको पूर्णपाठमा उल्लेख भएअनुसार सिडिई झाले सम्झौतामा उल्लेख भएभन्दा फरक ब्रान्डका साइकल आपूर्ति हुँदा पनि भएको तथ्य लुकाएर सम्झौताअनुरूपकै साइकल आपूर्ति भएको व्यहोरा उल्लेख गरेका थिए । त्यस्तै, सचिव भुसालले बिल भुक्तानी गरेका थिए । ‘साइकल जाँच नगरी स्टोरमा दाखिला गर्न र बिल भुक्तानी गर्नू भनेर सचिवबाट टिप्पणी सदर गर्नु अञ्जानमा भएको सामान्य त्रुटि मान्न सकिँदैन । दुवै प्रतिवादीको बदनियत पुष्टि हुन्छ,’ विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ । 

भण्डार शाखाका जितमोहनकुमार दासले साइकल दाखिला प्रतिवेदन तयार गरेका थिए भने जिन्सी शाखा प्रमुख रामस्वार्थ महतोले जाँच गरेका थिए, त्यसलाई प्रदेश सचिव भुसालले प्रमाणित गरेका थिए । तर, दास, महतो, सहलेखापाल राजाराम मण्डल र ओम सत्य साइकल प्रालिका रेनु अग्रवालले सफाइ पाएका थिए । ‘भुलचुकबाट ब्रान्ड फरक परेको जानकारी भएन भनी प्रतिवाद गर्ने आधारसमेत देखिन नआई जानीबुझी फरक ब्रान्डको साइकल स्वीकार गरेको पुष्टि हुन आउँछ,’ फैसलामा भनिएको छ ।

साइकलको गुणस्तरमा प्रश्न उठाएर अख्तियारले १८ साउन ०७९ मा सातजनाविरुद्ध मुद्दा चलाएकामा विशेषले ११ माघ ०८० मा दुईजनालाई दोषी ठहर भएको थियो । प्रदेश सरकारले १७ हजार २३८ थान साइकल खरिदका लागि ओम सत्य साई प्रालिसँग ११ करोड १० लाखमा सम्झौता गरेको थियो । त्यतिखेर अम्बिका ब्रान्डका लेडिज साइकल उपलब्ध गराउने सम्झौता थियो । तर, कम्पनीले एक हजार दुई सय थान अम्बिका ब्रान्डका र १६ हजार ३८ थान फरक साइकल उपलब्ध गराएको थियो ।

ब्राण्ड नै उल्लेख नभएको साइकलबारे कुनै कैफियत नजनाई सम्झौताबमोजिम नै रहेको भनी झाले सिफारिससहितको टिप्पणी पेस गरेका थिए भने सचिव भुसालले स्वीकृत गरेका थिए । जसअनुसार स्टोर दाखिला र भुक्तानी गरिएको थियो । ‘सार्वजनिक जवाफदेहीको पदका राष्ट्रसेवकसँग कानुनसंगत व्यवहार र इमानदारी तथा पदीय जिम्मेवारी पूरा गर्न सक्ने व्यावसायिक क्षमता, दूरदर्शिता, नेतृत्व गुण आदि पनि अपेक्षा गरिएको अवस्थामा सचिव भुसालले उक्त अपेक्षाविपरीत कार्य गरेको,’ फैसलामा छ । 

फैसलामा सचिव भुसालको सरकारी लगानीप्रति उदासीनता र लापरबाही मात्र नभई बदनियत देखिएको उल्लेख छ । ‘भुसालले आफैँले साइकल उत्पादनस्थल भारतको लुधियानासम्म पुगेर सही ब्रान्डको साइकल खरिद गरिएको निष्कर्षमा पुगिसकेर पनि उपलब्ध गराइएका साइकल आफूले निरीक्षण र अवलोकन गरेबमोजिमकै ब्रान्डका प्राप्त भए वा भएनन् भन्नेसम्म पनि जाँच गरिएन भन्नु करोडौँ मूल्यको सरकारी रकम लगानीप्रति निजको उदासीनता र उच्च लापरबाही मात्र नभई बदनियतपूर्ण कार्य हो ।’

विशेष अदालतले साइकल खरिदका लागि मुख्यमन्त्रीको कार्यालय र ठेकेदार कम्पनीबीच ११ असार ०७८ मा भएको सम्झौता भने वैध मानेको छ । ठेकेदारसँग भएको सम्झौतालाई स्वीकार गरेको, वैध मानेको अवस्थामा सम्झौता गर्ने क्रममा भएको प्रक्रियागत कार्यलाई अवैध मान्न नमिल्ने फैसलामा छ । अख्तियारले भने भगवान झाले विनाअख्तियारी उक्त परियोजनामा सम्झौता गरेको आरोप लगाएको थियो । जसमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा उपसचिव दिलीपकुमार प्रधान र अधिकृत सुरेन्द्रकुमार कर्णका साथै सहलेखापाल राजाराम मण्डलसमेत प्रतिवादी थिए । यसमा उनीहरू चारैलाई सफाइ दिइएको छ । 

सुझावित समाचार