विश्व बैंकको आइडिए–२१ बैठक समापन

शनिबार, ९ असार, २०८१
डिजिटल संस्करण

काठमाडौंमा चार दिनदेखि चलिरहेको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए–२१) परिपूरण बैठक सम्पन्न भएको छ । शुक्रबार अर्थमन्त्री वर्षमान पुनले आइडिए बैठक समापन गर्दै विश्वव्यापी विकास चुनौती सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरू सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए । 

दशकौँदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आइडिए मुलुकका लागि बैठक उपलब्धिमूलक भएको अर्थमन्त्री पुनको भनाइ छ । 

उनले बैठकले संसारभरबाट गरिबी र अविकाश अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकोमा धन्यवाद दिए । ‘गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशहरूका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौं भेलाको सामूहिक निर्णयका लागि आभार व्यक्त गर्छु,’ उनले भने, ‘तपाईंहरूले अविकसित मुलुकका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने कुराको सुनिश्चितता गर्नुभएको छ ।’ 

बैठकका निष्कर्ष र रणनीतिहरू विश्व बैंक र अरू विकास सझेदारबाट विकास वित्त प्राप्त गर्दै आएका आइडिए मुलुकहरू र ऋणदाता मुलुकका लागि खुसीको विषय भएको मन्त्री पुनले बताए । आइडिए मुलुकलाई कमजोर आर्थिक विकास र गरिबीको अवस्थाबाट माथि उठाएर बस्न लायक बनाउन बैठकले निकालेका निष्कर्ष प्रभावकारी हुने उनको विश्वास छ ।

अर्थमन्त्री पुनले धेरै आइडिए मुलुकले आर्थिक चुनौतीका कारण गरिबी, असमानता, खाद्य असुरक्षा, स्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेको औँल्याए । उक्त अवस्थाको अन्त्यका लागि बाह्य सहयोग र लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले आइडिए मुलुकका जनताका लागि विद्युत्को पहुँच, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा पोषणयुक्त खाद्यान्नमा जोड दिनुपर्ने उल्लेख गरे । यस्तै, जलवायु परिवर्तन, लैंगिक असमानता, गरिबी अन्त्यजस्ता एजेन्डामा सामूहिक प्रयास र प्रतिबद्धता जरुरी रहेको पनि उनको भनाइ थियो ।

सुझावित समाचार