दुग्ध किसानको बक्यौता छिट्टै भुक्तानी हुन्छ : मन्त्री साह

समयमै भुक्तानी नदिने उद्योगीलाई कानुनबमोजिम कारबाही गरिने

शुक्रबार, ७ असार, २०८१
डिजिटल संस्करण

किसानले बिक्री गरेको दुधको बक्यौता यथाशीघ्र छिटो उपलब्ध गराउने कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताएकी छिन् । बिहीबार प्रतिनिधिसभामा विनियोजित विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

बजारमा दैनिक १० लाख लिटर दुध संकलन हुने दुधमध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दैनिक डेढ लाख लिटर र बाँकी निजी डेरीले खरिद गर्ने उनले बताइन् । उनले भनिन्, ‘संस्थान र निजी क्षेत्रका उद्योगीहरूले भुक्तानी गर्न नसक्नुको कारण धुलो दुध र बटरको मौज्दात धेरै हुनु हो । अब गर्मी मौसम बढेसँगै धुलो दुधको उत्पादन कम हुँदै गएको र दुग्ध पदार्थको खपत पनि बढ्दै गएको हुँदा बक्यौताबापतको रकम तिर्न सजिलो हुन्छ ।’

दुध खरिद गरेपछि उद्योगहरूले किसानलाई १५ दिनभित्र रकम उपलब्ध गराउँदै आएका थिए । मन्त्रालयले यस्तो भुक्तानी प्रक्रिया तुरुन्त लागू गर्न निर्देशन दिएको उनको भनाइ छ । समयमै भुक्तानी नदिने उद्योगीलाई कानुनबमोजिम कारबाही गरिने साहले जानकारी दिइन् ।

सरकारी स्वामित्वमा डिडिसीले किसानलाई ३० करोड ऋण लिएर चुक्ता गरिसकेको र थप रकम ऋण लिने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको उनले बताइन् । आगामी दिनमा धुलो दुध, बटर मौज्दात नराख्ने गरी निर्यातको प्रबन्ध गर्न वाणिज्य आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको उनले जानकारी दिइन् ।

मन्त्री साहले आगामी दिनमा रासायनिक मलको अभाव नहुने बताएकी छिन् । २९ जेठसम्म तीन लाख ९० हजार मेट्रिकटन मल आयात भएको र त्यसमध्ये तीन लाख ६७ हजार टन बिक्री भएको र ९७ हजार टन मौज्दात रहेको उनले जानकारी दिइन् । थप एक लाख ३१ टन मल आयात हुने क्रममा रहेको उनको भनाइ छ । उनले भनिन्, ‘यस वर्ष किसानले मल अभाव झेल्नुपर्दैन, आगामी आवका लागि समेत २८ अर्ब ६७ करोड अनुदानबाट ६ लाख मेट्रिकटन मल टेन्डर आह्वान भएको छ ।’ 

सूचना प्रविधि दशकलाई सफल बनाउँछौँ : रेखा शर्मा, सूचना प्रविधिमन्त्री
सञ्चार, सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि दशकलाई सफल बनाउन आगामी साउनदेखि नै कार्यान्वयनमा लैजाने बताइन् । यसअघिका भएका काम र अधिकारको समीक्षा गरी अब रणनीति र कार्ययोजना बनाएर अघि बढ्ने उनको भनाइ छ । सूचना र सञ्चार क्षेत्रलाई विश्वसनीय बनाउन प्रेस काउन्सिल पुनर्संचरना गरिने बताइन् । उनले भनिन्, ‘आगामी दिनमा आइटी क्षेत्रलाई निर्यातमुखी बनाउने गरी यो दशकलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्ने गरी मन्त्रालय लागेको छ ।’

बन्द उद्योग चलाउन पहल गरेका छौँ : दामोदर भण्डारी, उद्योगमन्त्री
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको बताएका छन् । उनले गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल बुटवल धागो कारखाना, विराटनगर जुट मिल्स, हेटौँडा कपडा उद्योगसमेत सातवटा बन्द उद्योग सञ्चालनको विकल्प पहिचान गरिएको बताए । त्यस्तै, हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग रुग्ण उद्योगहरू पूर्ण सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । हालसम्म एक सय २० वटा औद्योगिक ग्राम घोषणा भएको र ६ वटा घोषणा हुने क्रममा रहेको उनले बताए ।  

समस्याग्रस्त सहकारीको पहिचान गर्दै छौँ : बलराम अधिकारी, सहकारीमन्त्री 
भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीको पहिचान गर्ने काम जारी रहेको बताए । उनले सहकारी समस्या समाधान गर्नेतर्फ सरकार अघि बढेको र समस्याग्रस्त २० वटा सहकारीमध्ये तीनवटाको समस्या समाधान भइसकेको बताए । अन्य नौवटा सहकारी अनुगमनको काम सकिएको उनको भनाइ छ । उनले भने, ‘अहिले समस्याग्रस्त सहकारीलाई देखाएर सबै सहकारी एउटै हुन् भन्ने भाष्य बनेको छ, त्यो भ्रमलाई चिर्ने काम हुँदै छ ।’ 

सुझावित समाचार