विश्वकप क्रिकेट : इंग्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हरायो

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १७.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिए । उनले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८७ रनको योगदान गरेका हुन् । 

जोनी बेयरस्टो ४८ रन बनाउँदा कप्तान जोस बटलरले २५ र मोइन अली १३ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक–एक विकेट लिए । त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रनको योगफल  बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । उनले निकोलस पुरन र रोभम्यान पावेलले समान ३६–३६ रन बनाए । त्यस्तै सार्फेन रदरफोर्डले २८ रन बनाउँदा ब्रान्डोन किङले २३ रन जोडे ।

इंग्ल्यान्डका जोफ्रा आर्चर, आदिल रसिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक–एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति नेपाली समयअनुसार ८:१५ बजे अफगानिस्तान र भारत आमनेसामने हुनेछन् ।

सुझावित समाचार