उमेर ढाँटेर भर्ना भएको अभियोगमा महासेनानी मल्ल बर्खास्त

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

नेपाली सैनिक अदालतले महासेनानी दिरेन्द्र मल्ललाई सेवाबाट बर्खास्त गरेको छ । सेनामा भर्ना हुँदा उमेर ढाँटछल गरेको अभियोगमा उनलाई मंगलबार अदालतले बर्खास्त गरेको हो । अदालतको फैसलालाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार नै सदर गरेका छन् । 

सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मल्ललाई सेवाबाट बर्खास्त गरिएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्कमा सैनिक सल्लाहकारका रूपमा कार्यरत मल्ल स्वदेश आएका वेला सैनिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

उनलाई सैनिक प्रहरी गणमा राखिएको थियो । छानबिनका क्रममा उमेर ढाँटछल भएको प्रमाणपत्र पेस गरेर मल्ल सेनामा भर्ना भएको पुष्टि भएको थियो । त्यसपछि सेनाले अदालत गठन गरेको थियो ।

सैनिक अदालतले उनलाई मंगलबार बर्खास्त गरेसँगै उनी सैनिक हिरासतमुक्त भएका छन् । सेनाले राष्ट्रसंघका लागि स्थायी नियोगमा नयाँ महासेनानीलाई नियुक्त गर्ने तयारी गरेको छ ।

सुझावित समाचार