सँगैका साथीसंगी कोही युरोप छन्, कोही अमेरिका त कोही सरकारी जागिरे, न उनलाई विदेश जाने सोच पलायो न लोकसेवा पढेर जागिरे हुने रहर । गाउँमा भएका सँगैका साथीभाइ पनि बसाइँसराइ गरेर सहरतिर लागे, बसाइँ सरेर जानेहरूको रित्ता घरको छानो भत्किन थालेका छन् । तर, राजनलाई आफ्नै गाउँमा बाबुले गरेको पुख्र्यौली पेसालाई अझै व्यावसायिक गराउने सोच पलायो ।
बागलुङको जैमिनी नगरपालिका– ८ छिस्ती फुर्के सल्लाका राजन पौडेल अहिले गाउँमै व्यावसायिक कृषिकर्ममा तल्लीन भएका छन् । उनले बाबुले गरेको पेसालाई अझै व्यवस्थित बनाएर निरन्तरता दिएका छन् । अहिले बाबुछोराको इलम गाउँमै व्यवसायिक कृषि फर्म भएको छ । राजन चार वर्षअगाडिसम्म उनी पनि चितवनमा बस्थे । उतै जग्गा भाडामा लिएर माछापालन गर्थे । कोरोना महामारी फैलिएपछि माछाबाट उनलाई घाटा लाग्यो ।
त्यसपछि गाउँ फर्किएर आफ्नो बुबाले गर्दै आएको कृषि र पशुपालनलाई व्यावसायिक रूपमा पेसा बनाउने काममा लागे । ‘कोरोनाअगाडि त म चितवनमै माछापालन गरेर बस्थेँ, अरूको जग्गा भाडामा लिएर काम गरेकाले त्यसवेला घाटा लाग्यो,’ राजन भन्छन्, ‘त्यसपछि घरमै आएर आफ्नै बुबाले गरिरहेको कामलाई व्यावसायिक रूपमा दिएको हुँ ।’ उनले अहिले दैनिक ४० लिटर दूध बिक्री गर्छन् । त्यसका लागि उनले ६ वटा मुर्रा क्रस भैँसी र तीनवटा होलिस्टिन गाई पालेका छन् ।
बागलुङ बजारमा रहेको भैरव डेरीले प्रतिलिटर ९५ रुपैयाँमा उनले पठाएको दूध खरिद गर्छ । दैनिक यहाँ दुहेको दूध बागलुङ बजारमा पठाउँछु, भाडा मैले आफैँ तिर्ने हो, उनी भन्छन्,‘डेरीले प्रतिलिटर ९५ रुपैयाँ भाउ मलाई दिएको छ ।’ अहिले उनले पाँचवटा गाईको बाच्छी र चारवटा पाडी तथा एउटा पाडा हुर्काइरहेका छन् । ती हुर्केपछि दूध उत्पादन पनि बढ्नेछ । उनले गाईभैँसीलाई सकभर दाना खुवाउँदैनन् । घाँसकै भरमा उत्पादन लिने गरेका छन् । अहिले वार्षिक १५ हजार रुपैयाँमा १० रोपनी जग्गा भाडामा लिएर घाँस उत्पादन गर्दै आएका छन् । राजनलाई ६१ वर्षीय बाबुले पनि निरन्तर साथ दिएका छन् । राजनका बाबुछोरा पशुपालन मात्रै होइन मौरी पालन र व्यावसायिक तरकारी खेतीलाई पनि सँगै अगाडि बढाएका छन् । उनको घरवरिपरि अहिले २६ घार मौरीका घार रहेका छन् । वर्षमा एकदेखि डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गरेको उनी बताउँछन् ।
अर्गानिक भएका कारण घरैबाट एक हजार पाँच सय रुपैयाँ प्रतिकिलो मह बिक्री हुने गरेको छ । ‘वर्षमा दुईपटक मात्रै मह निकाल्छौँ, अर्गानिक भएका कारण दुईपटक निकाल्न गाह्रो हुन्छ,’ उनले भने,‘अहिले घरबाटै बिक्री हुन्छ । अरू घार थप्ने योजना बनाएको छु ।’ त्यसका अलावा उनले दुईवटा टनेलमा टमाटर र एउटामा काउली र बन्दा उत्पादन थालेका छन् ।
उनको काममा सिंगो परिवारले साथ दिएको छ । राजनलाई आफू कृषिमा लाग्ने प्रेरणा बाबु रघुनाथ पौडेलले दिएको बताउँछन् । बाबुले नै सुरु गरेको कामलाई छोराले व्यावसायिक रूप दिएका हुन् । पौडेललाई भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङ, जैमिनी नगरपालिका तथा कृषि ज्ञान केन्द्रले विभिन्न सहयोग गरेका छन् ।