राजनीतिक विश्लेषक कृष्ण पोख्रेललाई तीन प्रश्न

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

एकीकृत समाजवादीको नजिकिँदै गरेको महाधिवेशनको राजनीतिक महत्व कति छ ?
कुनै पनि राजनीतिक दलका लागि महाधिवेशन भनेको संगठनलाई जीवन्तता दिने महत्वपूर्ण अवसर हो । त्यसैले, एकीकृत समाजवादीका लागि पनि आगामी महाधिवेशन सोही अवसर हो । पार्टी फुटपछि राष्ट्रिय पार्टीको हैसियतसमेत बनाउन नसकेको चुनौतीपूर्ण घडीमा हुन लागेको उसको महाधिवेशनले पार्टीमा पुनर्ताजगी ल्याउन सक्छ ।  

तीन प्रमुख नेताबीच भावी नेतृत्वका लागि चलिरहेको रस्साकस्सीलाई के भन्नुहुन्छ ? 
कुनै पनि जीवन्त पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा देखिनुलाई अन्यथा मान्नु हुँदैन । यस्तो प्रतिस्पर्धालाई पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो नै बनाउँछ । यतिखेर एकीकृत समाजवादीमा मात्र होइन, लगभग सबैजसो पुराना दलहरूको नेतृत्वमा पुस्तान्तरणको माग जोडदार रूपमा उठिरहेको छ । दलहरूमा पुस्तान्तरणको आवश्यकता पनि छ । पुरानै नेतृत्व कायम रहेको दल अब जीवन्त बन्न सक्दैन । मालेकालदेखि नै कुनै न कुनै रूपमा पार्टी नेतृत्वमा रहेका माधव नेपालले एकीकृत समाजवादीको पनि नेतृत्व गरिरहेको अवस्था छ । त्यसैले, त्यहाँ पुस्तान्तरणको माग त पक्कै उठ्छ । यस्तो अवस्थामा तीन नेता भए पनि दुई समूह बन्न सक्छ । माधव नेपाल र झलनाथ खनालले देखाउन सक्नेजति क्षमता देखाइसकेको अवस्था छ । उनीहरू अहिलेको अवस्थामा पड्किसकेका बारुद हुन् । 

महाधिवेशनपछिको एकीकृत समाजवादी कस्तो पार्टी बन्ला ?
समाजवादीको एक समूह सत्तामा जाने अवसरको खोजीमा छ । ऊ कांग्रेससँग मिलेरै भए पनि सत्तामा जान चाहन्छ । अर्को समूह जेजस्तो भए पनि समाजवादी धारमै रहनुपर्छ भन्नेमा छ । यस्तोमा जुन समूहको पल्ला भारी हुन्छ, पार्टी त्यही बाटो हिँड्न सक्छ । 

सुझावित समाचार