लगानीकर्ताको मागविपरीत समितिको प्रतिवेदन, पुँजीगत लाभकर बढाउन सुझाव

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

पुँजीगत लाभकरका विषयमा सुझाव आउँदैमा अहिले आत्तिनु पर्दैन : राधा पोखरेल

सेयर लगानीकर्ताले पटक–पटक पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसमक्ष पुँजीगत लाभकर घटाउने पर्ने प्रस्ताव राख्दै आएको छ । तर, लगानीकर्ताको मागविपरीत विद्याधर मल्लिकको अध्यक्षतामा बनेको ‘कर प्रणाली उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन’ले पुँजीगत लाभकर बढाउन सुझाव दिएको छ ।

प्रतिवेदनमा धितोपत्र खरिद–बिक्रीको लाभमा तीन सय ६५ दिनभन्दा बढी अवधिका लागि ७.५ प्रतिशत र तीन सय ६५ दिन वा सोभन्दा घटी अवधिमा भएको कारोबारमा नाफाको १० प्रतिशत करको दर कायम गर्नुपर्ने उल्लेख छ । साथै, कुल कारोबारको २ प्रतिशतका दरले न्यूनतम वैकल्पिक कर लगाउने व्यवस्था सुरु गर्न पनि सुझाव दिएको छ ।

अहिले तीन सय ६५ दिन वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको हकमा ५ प्रतिशत र तीन सय ६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयर कारोबार गर्दा ७.५ प्रतिशत लाभकर लाग्ने प्रावधान छ । सरकारले गत २९ भदौमा मल्लिकको अध्यक्षतामा चार सदस्य कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन गरेको थियो ।

लगानीकर्ताले हालको पुँजीगत लाभकरलाई संशोधन गरेर अल्पकालीन लगानीकर्ता अर्थात् तीन सय ६५ दिनभन्दा कम अवधिका लागि ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ता तीन सय ६५ दिनभन्दा बढी लगानीकर्ताको हकमा ३ प्रतिशत दर कायम गर्न माग गरेका थिए ।

पुँजीगत लाभकरका विषयमा सुझाव आउँदैमा अहिले आत्तिनुपर्ने अवस्था नरहेको नेपाल पुँजी बजार नेपाल संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । लगानीकर्ताले व्यक्तिगत तवरबाट गर्ने धितोपत्र कारोबारलाई प्रोत्साहित गर्न, मनोबल बढाउनका लागि पनि प्रतिवेदनले आवश्यक भूमिका खेल्ने नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

सुझावित समाचार