काठमाडौं महानगरपालिकाले महाराजगन्जस्थित टिचिङ हस्पिटलको प्रांगणमा रहेको ‘पानोर्मा फार्मेसी’लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्र लेखेको छ ।
महानगरको स्वास्थ्य विभागले मंगलबार अनुगमन गर्दा फार्मेसीको लापरबाही भेटिएपछि कारबाहीका लागि सिफारिस गरेको हो । उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोली फार्मेसीको अनुगमनमा पुगेको थियो । त्यस क्रममा म्याद गुज्रेको औषधि बिक्री गरेको भेटिएको थियो । फार्मेसीले आफ्नो गल्ती स्वीकार पनि गरेको छ । अनुगमनका क्रममा पसलमा म्याद सकिएका अन्य औषधि पनि भेटिएको छ ।
विभागका अनुसार विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डिफ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बीचमा कामय राख्नुपर्छ । यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने बिरामीलाई नकारात्मक असर पर्न सक्ने भएपछि फार्मेसी बन्द गरिएको थियो । विभागकी निमित्त प्रमुख सजिना महर्जनका अनुसार कुनै पनि फार्मेसीलाई कारबाहीका लागि पत्र लेखेर पठाइएको यो पहिलो हो ।
औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधि बेचेर ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा १० वर्षसम्म कैद वा जरिवाना हुनेछ । यस्तै, शरीरको कुनै अंगको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा पाँच वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।