१४ जुनमा प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीको जी ७ शिखर सम्मेलनमा भेला भएका विश्वनेतालाई भारतको चुनावी परिणाम ‘लोकतान्त्रिक विश्वका लागि विजय’ भएको बताएका छन् । तर, भारतमा फेरि ऐतिहासिक तेस्रो कार्यकाल सुरु गर्दा उनको फासीवादी शैली बलियो हुँदै गएको संकेत देखिन्छ । १४ जुनकै दिन दिल्लीका लेफ्टिनेन्ट जनरल विनयकुमार सक्सेनाले बुकर पुरस्कार विजेता लेखिका अरुन्धती रोय र सेन्ट्रल युनिभर्सिटी अफ कस्मिरका पूर्वप्राध्यापक शेख सोकत हुसैनलाई गैरकानुनी गतिविधि रोकथाम ऐन (युएपिए) अन्तर्गत मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएका छन् । यो अनुमतिपछि यी दुवै गिरफ्तार हुन सक्छन् ।
आफ्नो लेखनीका लागि विश्वव्यापी रूपमा प्रख्यात ६२ वर्षीय अरुन्धती रोयले भारतमा अभियोगको सामना गर्नुपरेको छ । कस्मिरमा अश्रुग्यास प्रहारबाट एक १७ वर्षीय मुसलमान बालकको मृत्युपछि भड्किएको तनावका सन्दर्भमा दिल्लीमा १४ वर्षअघि भएको कस्मिर सम्मेलनमा दिएको एक अभिव्यक्तिबाट यो मुद्दा उत्पन्न भएको हो । उनले त्यसवेला मुसलमान बाहुल्य कस्मिर कहिल्यै भारतको अविभाज्य हिस्सा नरहेको टिप्पणी गरेकी थिइन् । एक हिन्दू दक्षिणपन्थी कार्यकर्ताले उनी र अन्य चार वक्तालाई कथित रूपमा भारतविरोधी बयान दिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
गत अक्टोबरमा सक्सेनाले रोयलाई भारतीय दण्ड संहिताको दुई धाराअन्तर्गत मुद्दा चलाउन सक्ने संकेत दिएका थिए । तर, हालै उनले गम्भीर गैरकानुनी गतिविधि रोकथाम ऐन (युएपिए) अन्तर्गत सम्भावित अभियोजनलाई स्वीकृति दिएका छन्, जहाँ उनलाई कुनै तहकिकातबिनै अनिश्चितकालीन नजरबन्दमा राख्न अनुमति दिइएको छ ।
आलोचकलाई तह लगाउने भनेर चिनिने मोदी आफ्नो शक्ति बलियो बनाउन र समर्थकलाई आश्वासन दिन अरुन्धती रोयजस्तालाई निसाना बनाउँछन्
भारतको हालैको चुनावी नतिजापछि विश्वस्तरमा विभिन्न टिप्पणीकारले प्रधानमन्त्री मोदीले संसदीय बहुमत गुमाउनुलाई लोकतन्त्रको विजयका रूपमा मनाए । चुनावी प्रचारका क्रममा मोदीले आफूलाई ईश्वरले पठाएको र आफ्नो पार्टी भाजपाले चार सय सिट जित्ने दाबी गरेका थिए । यसो भएको भए यसले हिन्दू राष्ट्रवादी आदर्शका पक्षमा भारतको धर्मनिरपेक्ष लोकतान्त्रिक सिद्धान्तलाई खलल पार्ने प्रयासलाई तीव्र बनाउँथ्यो । विगत एक दशकमा हिन्दुत्व विचारधाराले गति प्राप्त गरेको छ, जसले भारतका २० करोड मुसलमानसहित अल्पसंख्यकलाई सीमान्तकृत गर्दै आएको छ ।
राहुल गान्धी र भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वमा विपक्षीले राष्ट्रिय एकता एवं संवैधानिक मूल्य रक्षाका लागि कडा चुनावी अभियान चलाउने क्रममा विपक्षले वित्तीय अवरोध (कंग्रेसको बैंक खाता रोक्का) र कानुनी डन्डाको सामना गर्नुपरेको थियो । यो चुनावमा मोदीको सत्तारुढ भाजपाले बोकेको हिन्दू दक्षिणपन्थलाई ठूलो तप्काको मतदाताले अस्वीकार ग¥यो । भाजपाले अघिल्लो चुनावमा पाएको तीन सय तीन सिटबाट ६२ सिट गुमायो । विभिन्न टिप्पणीकारले मोदीको शक्ति घटेको र उनको व्यक्तित्व मध्यमस्तरमा खस्केको जनाएका थिए । गठबन्धन साझेदारमा निर्भर मोदीको तेस्रो कार्यकालमा धेरै भारतीयमाझ उनको अधिनायकवादी प्रवृत्तिलाई रोक्न सकिने आशा छ ।
हालैका चुनावी असफलताका बाबजुद हिन्दूराष्ट्र स्थापना गर्ने लक्ष्य राखेका मोदी, उनको पार्टी भाजपा र आरएसएसले सन् २०१९ यता आफ्नो राष्ट्रिय भोट अंशमा न्यून परिवर्तन देखेका छन् । विगत एक दशकमा यिनले भारतको लोकतान्त्रिक संस्थालाई उल्लेखनीय रूपमा कमजोर बनाएका छन् । सामुदायिक सम्बन्धमा यस्तो क्षति भएको छ, जसको मर्मत चुनौतीपूर्ण हुनेछ । यिनले न्यायपालिका, सञ्चारमाध्यम र प्राज्ञिक क्षेत्रजस्ता प्रमुख संस्थामा प्रभाव पारेका छन्, जहाँ भाजपा–आरएसएस निकट व्यक्ति नियुक्त छन् । सञ्चार क्षेत्र भाजपा–आरएसएसको मुखपत्र बनेका छन् ।
भारत सरकारले आलोचकलाई हिरासतमा राख्न आतंकवादविरोधी कानुनको दुरुपयोग गर्दै आएको छ । अरुन्धती रोयमाथि लागेको मुद्दा युएपिएअन्तर्गत सबैभन्दा पछिल्लो उदाहरण हो । उल्लेखनीय रूपमा भिमा कोरेगाउँ प्रकरणमा १६ जना सामाजिक अभियन्तालाई सन् २०१८ देखि कुनै मुद्दाविनै जेलमा हालिएको थियो । यी अभियन्तालाई दोषी देखाउन यिनका कम्प्युटरमा प्रमाण रोपिएको पुष्टि हुँदा पनि धेरैलाई वर्षौंसम्म जेलमा राखिएको थियो । यस क्रममा हिरासतमा एकजनाको मृत्युसमेत भएको थियो ।
न्यायिक निष्पक्षतामा पनि प्रश्न उठेको छ, किनभने न्यायाधीशले आफैँलाई यी मुद्दामा जमानत सुनुवाइबाट अलग गरेका छन् र सत्तारूढ भाजपासँग गठबन्धन भएकाको मुद्दालाई भाजपा समर्थक न्यायाधीशको इजलासमा सार्ने गरिएको छ । आरएसएसप्रति उच्च अदालतका न्यायाधीशको वैचारिक आस्था रहेको हालैका खुलासाले न्यायिक स्वतन्त्रता सुनिश्चित गर्नका लागि गम्भीर चुनौती मौजुद छन् भन्ने देखाउँछ ।
मोदीको आलोचना गर्ने अधिकारीले शंकास्पद आरोपमा जेल सजाय भोग्नुपरेको छ र मिडिया पनि बन्द हुने हो कि भन्ने त्रासमा छन् । कानुनी र प्रशासनिक दुव्र्यवहारका कारण पत्रकार एवं सर्वसाधारण मौन छन् । रोयलाई निसाना बनाइँदा स्थिति थप दमनकारी हुने संकेत देखिन्छ । विशेषतः मोदीको प्रभावमा रहेका युवा उग्रवादी पुरुषले मुसलमान द्वेषलाई राष्ट्रवाद मानेका छन् । यी उग्रवादी युवाले छत्तीसगढमा चौपाया बोकेको गाडीमा रहेका दुई मुसलमानलाई हालै मब लिन्चिङ (भिडले गर्ने भौतिक हिंसा) मार्फत हत्या गरेका छन् । यी ‘गौ रक्षक’को यस्तै आक्रमणले मोदीको कार्यकालमा प्रचारित हिन्दू सर्वोच्चतावादी विचारधाराले बढाएको साम्प्रदायिक हिंसाको व्यापक प्रवृत्तिलाई प्रतिबिम्बित गर्छ ।
घाइते बाघ घातक हुने गर्छ । आलोचकलाई तह लगाउने भनेर चिनिने मोदी आफ्नो शक्ति बलियो बनाउन र समर्थकलाई आश्वासन दिन रोयजस्ता अभियन्तालाई निसाना बनाउँछन् । भारतको चुनावी नतिजाका सकारात्मक पक्ष भए पनि सुधार हुनुअघि स्थिति थप बिग्रन सक्छ ।(शाह लन्डन स्कुल अफ इकोनोमिक्सकी
सामाजिक मानवशास्त्रकी प्राध्यापक हुन्) द न्यु स्टेट्समेनबाट