ताप्लेजुङको पूर्वी क्षेत्रमा भीषण पानी परिरहेको छ। भीषण वर्षाका कारण आइतबार यहाँका विद्यालय बन्द गरिएका छन्।
सिरीजंघा गाउँपालिका– १ मा रहेको सिनाम माध्यमिक विद्यालयका शिक्षक तुलसी पोख्रेलले टोलटोलमा फोन गरेर विद्यार्थीलाई रोेकेको बताए।
‘भीषण वर्षा भइरहेको र पहिरो गएर बाटोहरू अवरुद्ध भएको छ । कुन वेला कहाँ पहिरो जान्छ, थाहा नभएकाले अभिभावकहरूलाई टोलटोलमा फोन गरेर विद्यार्थीलाई घरमै रोकेका छौँ,’ उनले भने।
पालिका अध्यक्ष लालबहादुर चौहानले भारी वर्षा भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्। बाढीपहिरोका कारण २४ घण्टा अघिदेखि विद्युत् समेत नभएको उनले बताए।