कार्यवाहक राष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनराजनीतिक परामर्शदातृ सभा (सिपिपिसिसी)को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेको छ।

भेटघाटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, उच्च तथा जनस्तरीय भ्रमण, परस्पर सहयोग, व्यापार तथा पर्यटनलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

कार्यवाहक राष्ट्रपति यादवले बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणप्रति खुसी व्यक्त गर्दै नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र अरू उच्च बनेको बताए ।

‘हाम्रा दुई मुलुकहरूले लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्त्व दिएका छन्,’ उनले भने, ‘नयाँ उचाइ र आयाममा पुगेको नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकांक्षा पूरा गर्न महत्त्वपूर्ण आधारशिला प्रदान गरेको छ ।’

कार्यवाहक राष्ट्रपति यादवले दुई देशबीचको उच्चस्तरीय भ्रमणले हाम्रो सम्बन्धलाई थप उचाइमा पुर्याएको तथा सहकार्यका क्षेत्रमा थप विस्तार गर्न मद्दत मिलेको पनि बताएका थिए ।

कार्यवाहक राष्ट्रपति यादवले चीन सरकारले हालै (१ मे २०२४) देखि लागू हुने गरी चीन भ्रमण गर्ने नेपालीका लागि भिसा शुल्क मिनाहा गरेको जानकारी पाएर खुसी लागेको उल्लेख गर्दै यस मैत्रीपूर्ण कदमका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

चीनको ३०औँ चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) केन्द्रीय कमिटीका सदस्य तथा १४औँ सिपिपिसिसीका राष्ट्रिय कमिटीका उपाध्यक्ष बेटरले चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताए। उनले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप दिगो, बलियो र प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै नेपालको विकासमा चिनियाँ सहयोग निरन्तर जारी रहनेसमेत बताए।

सुझावित समाचार