रुग्ण उद्योग पुनः सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ : प्रधानमन्त्री

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन्।

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। 

छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योग धराशयी भएको बताउँदै ती उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरुरी भएकामा जोड दिएका हुन्।

प्रधानमन्त्रीले भने, 'विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ। त्यसैले कुन–कुन उद्योग पुनः सञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ। अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ।'

प्रधानमन्त्रीले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योग पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकाय प्रस्ट हुनुपर्ने बताए। 'विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगको पुनः सञ्चालन हुन सक्दैनन्। सार्वजनिक-निजी साझेदारीको मोडेल नै ती उद्योग सञ्चालन गर्ने मोडेल हो। बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योगलगायत उद्योगको सम्भाव्यता बलियो छ। त्यसैले, व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौँ,' उनले भने।

छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा. वैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउतलगायत थिए। 

सुझावित समाचार