हरेक वर्ष बाली लगाउने समयमा किन किसानलाई मल अभाव हुन्छ ?
हामीकहाँ हरेक वर्ष मल अभाव हुनु र किसानले दुःख पाउनु सरकारका लागि सामान्य नै भइसक्यो । यस वर्ष पनि तथ्यांकमा हेर्दा देशभित्र रासायनिक मल पर्याप्त छ भनिन्छ । किसानको बाली लगाउने मुख्य सिजन लगभग सुरु नै भइसक्यो । तैपनि, किसानले पैसा तिरेर मल किन्नसमेत घन्टौँ लाइन लाग्नुपर्ने बाध्यता छ । यो राज्यले किसानमाथि गरेको चरम अत्याचार हो ।
हरेक वर्ष कृषि क्षेत्रको बजेटमध्ये आधाभन्दा बढी मलकै लागि छुट्याइन्छ, तर मलमै किन समस्या आउँछ ?
यही त दुःखद छ । हामीले रासायनिक मललाई मात्र प्राथमिकता दिँदा अहिले मलको अभाव देखिएको पनि हुन सक्छ । हामी किसानले प्रांगारिक मलको पनि सही सदुपयोग गर्नुपर्छ । त्यसका लागि पनि सरकारले बजेट व्यवस्था गरेर यसलाई अभियानकै रूपमा अघि बढाउन सक्नुपर्छ । अर्को कुरा मल अभाव हुनुमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुनु पनि एउटा कारण हो । आफूहरूबीच समन्वय नहुँदा किसानमाथि चर्को अन्याय भइरहेको यथार्थप्रति तीनै तहका सरकारको ध्यान जान नसक्दा पनि यो समस्या हरेक वर्ष दोहोरिइरहेको हो ।
तीन तहका सरकारबीच समन्वय नहुँदा किसानले हरेक वर्ष मलको अभावमा बाली नै लगाउन नपाउने किन हुन्छ ?
हामीले पनि राज्यलाई विभिन्न फोरमबाट यही प्रश्न सोधिरहेका छौँ । किसानसँग स्थानीय तह जोडिने हुँदा स्थानीय तहले यसमा मुख्य भूमिका खेल्नुपर्ने हु्न्छ । यसमा हाम्रा नीतिगत समस्या पनि देखिन्छन् । तिनलाई समयमै सच्याउनुपर्ने हो । तर, यसतर्फ पनि सरकारको ध्यान जान सकेको छैन ।