पहिलोपटक नेपाल र श्रीलंका आमनेसामने हुँदै

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

नवौँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दै छ । अमेरिकाका फलोरिडाको सेन्ट्रल ब्रोबार्ड रिजनल पार्क रंगशालामा नेपालले पहिलोपटक श्रीलंकाको सिनियर टोलीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसमक्ष टेस्ट राष्ट्रलाई हराउन अवसर प्राप्त भएको छ । यो खेल नेपाली समयअनुसार बिहान ५:१५ बजे सुरु हुने भनिए पनि वर्षाका कारण अहिले खेल रोकिएको छ ।  समूह ‘डी’बाट सुपर ८ को आशा जीवित राख्न दुवै टोलीलाई जित आवश्यक छ । 

नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले भएको थियो । श्रीलंकाले खेलेका दुईवटै खेल गुमाएको थियो । पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकाबाट ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको जित निकालेको थियो । नेपालसँग स्तब्ध हुँदा पूर्वविजेता श्रीलंकाको दोस्रो चरणको यात्रा समाप्त हुनेछ ।

नेपालको अगाडि बढ्ने अवसर खुल्नेछ । श्रीलंका र नेपालले यस खेललाई महत्वपूर्णसँगै गर या मरको अवस्थाका रूपमा लिएका छन् । दुवै टोली अंकविहीन छन् । आइसिसीको वरीयतामा श्रीलंका नेपालभन्दा माथि छ । पछिल्लो वरीयतामा श्रीलंका आठौँ र नेपाल १७औँ स्थानमा रहेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले श्रीलंकालाई हराउन सक्ने बताए । खेलको पूर्वसन्ध्यामा मंगलबार भएको पत्रकार सम्मेलनमा रोहितले श्रीलंकाविरुद्ध खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरका रूपमा लिए । ‘हामीसँग टेस्ट राष्ट्रलाई हराउने मौका छ, यसको प्रयोग भरपुर गर्नुपर्छ,’ उनले भने ।

श्रीलंकाका स्पिनर राम्रा छन् : रोहितकुमार पौडेल, कप्तान, नेपाल
श्रीलंकाका स्पिनर राम्रा छन् । सबै खेलाडीले लगभग विश्वभर क्रिकेट खेलेका छन् । न्युयोर्क र डालासको तुलनामा फ्लोरिडाको पिच फरकजस्तो छ । यहाँको विकेट पनि राम्रो छ । नेपालले ओपनरमा परिवर्तन गर्नेछैन । हामीले राम्रो प्रदर्शन गर्न सके श्रीलंकालाई हराउन सक्छौँ । नेपालले विश्वकपका लागि दुई महिनादेखि तयारी गरेको छ । नेपालले खेलमा केही सुधार गर्नुपर्छ । 

नेपालले राम्रो क्रिकेट खेलिरहेको छ : अकिब जावेद, बलिङ प्रशिक्षक, श्रीलंका
विश्वकपमा नतिजा देखिरहेका छौँ । सबै टोली उस्तै छन् । हामीले नेपालसँगको खेललाई एक महत्वपूर्ण रूपमा नै लिएका छौँ । नेपालले पनि राम्रो क्रिकेट खेल्छ । हाम्रो बलिङ आक्रमण केही राम्रो छ । हारमा पनि राम्रो प्रदर्शन भएको छ । तर, यो विश्वकपमा मैदानको अवस्था बुझेर खेल्न सके मात्र सहज हुन्छ । त्यसैले हामीले बुझेर आफ्नो रणनीति प्रयोग गर्नुपर्छ । 

अनुभवी श्रीलंका
नेपालको तुलनामा विश्व क्रिकेटमा श्रीलंकाको अनुभव धेरै छ । श्रीलंकाको यो नवौँ विश्वकप सहभागिता हो । जहाँ नेपालको दोस्रो मात्र हो । सन् २००७ देखि श्रीलंकाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सन् २०१४ को संस्करणमा श्रीलंकाले नै जितेको थियो । पाँचौँ संस्करणको फाइनलमा श्रीलंकाले भारतमाथि ६ विकेटको जित निकाली विश्व च्याम्पियन ट्रफी उचालेको थियो । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपालले पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो । विश्वकपमा नेपालले समान हार दुई जित र हार निकालेको छ । श्रीलंकाले टी–२० विश्वकपमा ५३ मध्ये ३१ खेल जित निकाल्यो ।

 ब्याट्सम्यानलाई साथ दिने पिच
नेपाल र श्रीलंकाबीच खेल हुने पिच ब्याट्सम्यानले खेलेर प्रतिस्पर्धा गर्न सक्छन् । यस अर्थमा यो पिच ब्याट्सम्यानमुखी हो । चालू विश्वकपमा यो रंगशालामा पहिलो खेल हुन लागेको छ । यसै मैदानमा श्रीलंका र नेदरल्यान्ड्सबीच अभ्यास खेल भएको थियो । दुवै टोलीले अभ्यास खेलमा एक सय ५० रनमाथिको योगफल बनाए ।

सुझावित समाचार