नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित भएका छन्। मंगलबार मतदान प्रक्रियामा तीन सय ७० मत प्राप्त गरी निरौला निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी निर्मल देउलाले १ सय ९१ मत पाएका थिए। निरौला निवतर्मान अध्यक्ष थिए भने देउला महानगर कमिटीका पूर्वअध्यक्ष थिए।
पदाधिकारीहरूमा पनि निरौलानिकटहरू नै विजयी भएका छन्। जसअनुसार उपाध्यक्षमा विश्वराम सापकोटाले देउलानिकट नवराज पराजुलीलाई पराजित गरेका छन्। सापकोटाले दुई सय ६४ र पराजुलीले एक सय ७४ मत पाएका थिए।
सचिवमा राजेश शाक्य तीन सय ७० मत ल्याएर विजयी भएका छन् भने सत्यनारायण डंगोलले एक सय ९१ मत ल्याएर पराजित भएका छन्। त्यस्तै, उपसचिवमा निरौला समूहबाटै उद्धव भण्डारी र विन्दु महर्जन विजयी भएका छन्। देउला प्यानलबाट उपसचिवमा गुन्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी थियो।
शनिबारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशन अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए। नयाँ नेतृत्वका लागि मंगलबार विद्युतीय मेसिनबाट मतदान भएको थियो।